काठमाडौं- सहिद स्मारक 'ए' डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबलाई बराबरीमा रोकेको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले थ्रीस्टारलाई १-१ गोलको बराबरीमा रोकेको हो।
बराबरीसँगै उपाधि होडमा शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई फाइदा पुगेको छ। नवौं चरणको समाप्तीमा मनाङको २७ अंक छ। दोस्रो स्थानको संकटा क्लबको २४ अंक छ। बराबरीपछि दोस्रो स्थानमा उक्लन बन्चित भएको थ्रीस्टारको २२ अंक भएको छ। आर्मी भने १८ अंक जोड्दै चौथो स्थानमा छ।
थ्रीस्टारलाई बराबरीमा रोक्ने क्रममा आर्मीका जर्जप्रिंस कार्कीले दोस्रो हाफमा थपिएको ४ मिनेट इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे। उनले फ्रिकिङमार्फत सानदार गोल गरेका थिए।
त्यसअघि ७० मिनेटमा थ्रीस्टारले खेलमा अग्रता लिएको थियो। थ्रीस्टारका लागि अजायी मार्टिन्सले उपलब्ध गराएको पासमा निराजन खड्काले गोल गरेर थ्रीस्टारलाई अग्रता दिलाएका थिए।
जारी लिगमा ७ खेलमा जित हात पारेको थ्रीस्टार पहिलो पटक बराबरीमा रोकिएको हो। यसअघि थ्रीस्टार एक खेलमा पराजित हुने क्रममा मनाङसँग हारेको थियो।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।