पोखरा- पोखरा नगर क्षेत्रका सडकमा विभिन्न व्यक्तित्वका सालिक छन्। कतिपय ठाउँ सालिक भएकै व्यक्तिको नाममा परिचित छन्। ती सालिक ठडिएका ठाउँले सडकको केही भाग ‘आइल्यान्ड’का रुपमा ओगटेको छ।
पछिल्लो समय पोखरा महानगरपालिकाले सडक फराकिलो बनाउने भन्दै ती आइल्यान्ड धमाधम भत्काउँदैछ।
पृथ्वीचोकमा रहेको सहिद लखन थापाको सालिक भत्काउँदा महानगरमाथि मगर समुदायका अगुवाहरु खनिए। उनीहरुको आरोप थियो, ‘सहिदको सम्मान गर्नुपर्ने ठाउँमा उल्टै हटाइयो। मगर समुदायलाई मात्रै तारोमा पारिएको छ।’
पछि त्यहाँ सालिक पुन: राखियो र सबै सहिदका सम्मानमा महानगरले सहिदपार्क बनाउने र त्यतै व्यवस्थापन गर्ने सहमतिसँगै विवाद मिल्यो।
महानगर पहिले पोखरामा सवारीसाधनको चाप कम रहेको र अहिले बढेकाले बाटो फराकिलो बनाउन आइल्यान्ड भत्काउनुपरेको बताउँछ। ‘पहिले बाटोमा कम चाप हुन्थ्यो। अहिले चाप बढेसँगै बाटो पनि ठूलो बनाउनुपर्ने आवश्यकता देखियो,’ महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने। उनले विभिन्न चोकमा भएका सालिकलाई पछि पोखरा– १८ सराङकोट, जामुनबोटमा बन्न लागेको सहिदपार्कमा व्यवस्थापन गरिनेसमेत जानकारी दिए।
एउटा आइल्यान्ड भत्काउन र व्यवस्थापन गर्न ८० हजारदेखि १ लाखसम्म खर्च लाग्ने महानगरले जनाएको छ।
‘महानगरले आफैं भत्काउने हो। भत्काइएको ठाउँमा कालोपत्रेदेखि सबै काम आफैं गर्ने हो,’ प्रवक्ता नेपालीले भने। महानगरले पोखरा जिरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचन, अमरसिंह चोक, विरौटा चोक, हरि चोक, पृथ्वीचोक लगायतका आइल्यान्ड भत्काइसकेको छ।
मंगलबारमात्रै पोखरा ७ मुस्ताङ चोकको आइल्यान्ड भत्काएको छ।
महानगरले ट्राफिक व्यवस्थापन गर्न सहज हुने गरी आइल्यान्ड भत्काइरहेको जनाएको छ। ‘प्रत्येक आइल्यान्डले ओगटेको १३ मिटर क्षेत्रफललाई ४ मिटरमा झारिरहेका छौं,’ मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने, ‘भोलि आवश्यक देखियो भने चोकहरुबाट इन्टरसेक्सन र क्रस सेक्सन पनि बनाउनुपर्ने भएकाले त्यसबारे पनि सोच्नुपर्ने हुन्छ।’ उनले सबै आइल्यान्डलाई ४ मिटरमा झारेर एकरुपता ल्याउन खाजेको जनाए।
अब वीरेन्द्र चोक, सहिद चोकको केही ठाउँ मिलाउन बाँकी रहेको तिमिल्सिनाले बताए। ती सबै ठाउँका आइल्यान्ड भत्किइसकेपछि लगभग सबै बाटो फराकिलो बन्ने उनको भनाइ छ।
सराङकोटमा बन्न लागेको सहिद पार्क डिजाइनमा केही त्रुटि देखिएकाले पुन: डिजाइन गर्नुपर्ने भएकाले बन्न केही समय लाग्ने उनले बताए। उनका अनुसार उक्त पार्कको डिजाइन भइसकेपछि महानगरले वातावरण विभागसँग मिलेर पार्क बनाउन सुरु गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।