भैरहवा- रुपन्देहीको नेपाल–भारत सीमा बेलहियामा निर्माण गर्ने भनिएको शान्तिद्वार (प्रवेशद्वार) नाकादेखि एक किलोमिटर टाढा डण्डापुल नजिक बनाउने सिद्धार्थनगर नगरपालिकाको निर्णय विवादमा परेको छ।
नगरपालिकाको बोर्ड बैठकले बेलहिया नाकामा नेपालको चिनारी सहितको बुद्धत्व झल्किने गरी एक करोड ५० लाख लगानीमा आकर्षक प्रवेशद्वार निर्माण गर्ने निर्णय गरेको थियो। सोही अनुसार प्रक्रिया पनि अघि बढेको थियो। तर, अहिले नगरपालिकाले आफ्नै निर्णयलाई उल्ट्याएको छ।
नगरपालिकाले सीमा क्षेत्रबाट एक किलोमिटर टाढा प्रवेशद्वार बनाउने निर्णय गरेसँगै स्थानीयले विरोध जनाएका छन्। उनीहरुले पत्रकार सम्मेलन गरेर नगरपालिकालाई आफ्नो निर्णय सच्याउन आग्रह गरेका छन्।
यस नाका हुँदै भारत लगायत तेस्रो मुलुकका लाखौं पर्यटक लुम्बिनी भ्रमणमा आउँछन्। लुम्बिनी आउने अधिकांश पर्यटकले बुद्धजन्मस्थल प्रवशे गर्यौं भन्ने पत्तोसमेत पाउँदैनन्। नगरपालिकाले पनि नाकामा निर्माण गर्ने भनेको प्रवेशद्धार अन्यत्र बनाउने निर्णय गरेपछि पर्यटकहरु नेपाल सिमानाको विषयमा थप अलमलमा पर्ने सम्भावना बढेको स्थानीय डा शान्तकुमार शर्माले बताए।

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाकामै प्रवेशद्वार निर्माणको थालनी गरिएको थियो। नगरपालिकाले स्थानीय बेलहियाको पहिचान नै मेट्ने गरी प्रवेशद्वार सार्ने निर्णयका कारण आफूहरु विरोधमा उत्रिएको शर्माले बताए।
'पहिला यहीँ बनाउने निर्णय भएकोमा अहिले परिवर्तन हुनु भनेको नगरपालिकाले बजेट कुम्ल्याउनका लागि निर्णय परिवर्तन गरेको जस्तो अनुभूति भएको छ,' उनले भने, 'प्रवेशद्धार बनाउने हो भने नाकामै बनाउनुपर्छ।'
अहिले नो म्यान्स ल्यान्ड (दसगजा) बाट करिब ४ मिटरको दुरीमा भारतीय पक्षको प्रवेशद्वार रहेको छ भने नेपालतर्फ ५० मिटरको दुरीमा रहेको छ।
बेलहिया गाउँ समाजका अध्यक्ष मोहन शाहीले नगरपालिकाले स्थानीयसँग कुनै छलफल नै नगरी पर्यटकलाई दिग्भ्रमित गर्ने गरी नाकामा रहेको प्रवेशद्धार भत्काई डण्डापुलमा बनाउने निर्णय स्थानीयलाई मान्य नहुने बताए। नगरपालिकाले निर्णयमाथि पुनर्विचार नगरे स्थानीयवासी आन्दोलनमा उत्रिन बाध्य हुने उनले चेतावनी दिए।
नगरपालिका वडा नम्बर १ बेलहियाका वडाअध्यक्ष रमेश मल्लले निर्माणस्थल सार्ने विषयमा आफ्नो सहमति नरहेको बताए। प्रवेशद्वार नाकामै निर्माण हुनुपर्ने पक्षमा आफू रहेको बताउँदै उनले नगरपालिकाले आफ्नो मागलाई बेवास्ता गर्दै पेलेर गएको बताए।

सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले भने एकीकृत चेकपोस्ट निर्माण भएपछि त्यहीँबाट मुख्य सडक सञ्चालन हुने भएकाले प्रवेशद्धारको स्थान परिवर्तन गरिएको बताए। यस विषयमा स्थानीयसँग छलफल गरेर टुङगोमा पुग्ने उनको भनाइ छ।
निर्माण हुने भनिएको प्रवेशद्वार ५० मिटर लम्बाइ, २३ मिटर ८० सेन्टिमिटर चौडाइ तथा सडकदेखि २९ मिटर अग्लो हुने बताइएको छ।
द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजुर, हरियाली जोन, नेपालको राष्ट्रिय झन्डा र बुद्ध झन्डाले सिँगारिने उल्लेख गरिएको छ। यस्तै द्वारमा बौद्ध ध्वनि गुन्जायमान हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।