गोरखा– गोरखाको सहिद लखन गाउँपालिका–२, मनकामनाका सुन्तला खेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन इकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण गर्न थालेको हो। किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय अधिकारीले जानकारी दिए।
चालू आर्थिक वर्षमा जिल्लाभरका १ हजार २ सय अमिलो जातका फलफूलको व्यावसायिक खेती गर्दै आएका किसानलाई परिचयपत्र वितरण गर्ने योजना छ।
‘सुन्तला जोन क्षेत्रभित्रका सबै किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेका छौं’, उनले भने। परिचयपत्र लिन किसानले निवेदनसँगै दुई प्रति फोटो, नागरिकताको फोटोकपी र लालपुर्जाको फोटोकपी बुझाउनुपर्ने व्यवस्था गरिएको छ। परिचयपत्र लिन चाहने किसानले कम्तिमा २० बोट सुन्तला, अमिलो, कागती वा अमिलोजातका फलफूल खेती गरेको हुनुपर्ने परियोजनाका सञ्चालक समितिका संयोजक धुव्रप्रसाद खनालले जानकारी दिए।
परिचयपत्रमार्फत किसानले बारीमा लगाएका सुन्तलाको बोटको सङ्ख्या, उत्पादन भइरहेको बोटको सङ्ख्या र हुर्किंदै गरेको सुन्तलाको बोटको जानकारी लिन सकिने संयोजक श्रेष्ठले बताए। ‘परिचयपत्र वितरणपछि किसानलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित गर्न सहज हुनेछ,’ उनले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।