वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक (फेडरल रिजर्भ)लाई ब्याजदर बढाएर ‘अर्को गल्ती’ नगर्न आग्रह गरेका छन्।
‘मलाई लाग्छ फेडरल बैंकका अधिकारीले अझ अर्को गल्ती गर्नु पहिले मङ्गलबारको ‘वाल जर्नल’ पत्रिकाको सम्पादकीय हेर्नेछन्,’ उनले ट्विटर सन्देशमार्फत बताएका छन्।
‘बजारलाई थप अतरल बन्नबाट जोगाऊँ। बजारलाई बुझौँ। अर्थहीन सङ्ख्याको पछि नलागौँ। शुभकामना’, सन्देशमा भनिएको छ।
मङ्गलबारको जर्नलको सम्पादकीयमा ब्याजदर वृद्धि रोक्न आग्रह गरिएको छ। केन्द्रीय बैंकले नीति निर्माणका लागि दुई दिने बैठक बोलाएका दिन ट्रम्पको उक्त भनाइ आएको हो।
बैंकको सन् २०१८ को अन्तिम बैठकले ब्याजदर बढाउने अनुमान गरिएको छ। यदि ब्याजदरमा वृद्धि गरिएमा यो यस वर्षको चौथो पटक हुनेछ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।