टोकियो– सुप्रसिद्ध जापानी मोटरगाडी निर्माण कम्पनी ‘निसान’मा पूर्व अध्यक्ष कार्लोस गोसनको विकल्पमा नेतृत्व छान्न बसेको सञ्चालक समितिको बैठकले नयाँ नेतृत्व चयन गर्ने विषयबारे निष्कर्ष निकाल्न असफल भएको छ।
गोसनलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरिएपछि निसानसँग सहकार्य गर्दै आएको फ्रान्सको बहुराष्ट्रिय कार कम्पनी ‘रेनल्ट’सँग तनाब बढिरहेको छ। निसानले यस विषयलाई सावधानीका साथ सम्बन्ध अघि बढाउने बारेमा छलफल गर्न पहल सुरु गरेपनि गोसनलाई स्थायीरूपमा हटाउने सहमति बन्नेमा समितिका सदस्यहरू एक मत हुन नसक्दा नेतृत्वको विवाद थप केही समय रहने देखिएको हो। निसानले रेनल्ट कम्पनीसँग सहकार्य गर्दा गरेका सहमतिले गोसनलाई हटाउन समस्या परेको विश्लेषकहरू बताउँछन्।
पूर्व अध्यक्ष गोसनसँगै निसान कम्पनीमाथि नै झुटा कागजात बनाएर गोसनको तलबलाई कमी देखाइएको आरोप लागेको छ। यससँगै रेनल्टले जापानी कम्पनीको बोर्डमा थप अधिकारको दाबी गरेको छ भने निसानले विदेशी कम्पनीलाई थप शक्तिशाली बनाउने गरी रेनल्टको माग सम्बोधन गर्न तयार देखिएको छैन।
निसान कम्पनीको ९ सदस्यीय सञ्चालक समिति र उच्च व्यवस्थापनमा प्रतिनिधित्वका लागि पत्राचार गरी सेयर सदस्यहरूको बैठक बोलाउन रेनल्टले आग्रह गरेको आइतबार प्रकाशित अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’मा उल्लेख गरिएको थियो।
‘निसानको सबैभन्दा बढी सेयर रहेको रेनल्टमाथि अर्थपूर्ण खतरा भएको र यसले दुई गाडी उद्योगबीचको सहकार्यमा स्थायित्वका लागि समस्या बनेको’ उक्त जर्नलमा प्रकाशित समाचारमा उल्लेख छ। यस विषयमा जानकार एक स्रोतले रेनल्टको पत्र निसानले बुझेको र सेयर सदस्यहरूको विशेष बैठक सन् २०१९ को जनवरीमा बोलाउने योजना रहेको पुष्टि गरेको छ।
रेनल्टको पत्रले निसान र मित्सुबिसी मोटर्स कम्पनीसँगको तनावको सबैभन्दा ठूलो सङ्केत देखिएको छ। यी तीन कम्पनीलाई सहकार्यमा ल्याएका गोसनको पक्राउपछि समस्या बढ्ने देखिएको छ।
गोसन पक्राउ परेसँगै निसान र मित्सुबिसीले कम्पनीको ख्यातिमा प्रभाव पर्नसक्ने देखेर तत्काल उनलाई पदबाट हटाइएको थियो। तर, रेनल्टले गोसनलाई कार्यकारी प्रमुख अधिकृत तथा अध्यक्षमा कायम नै राखेको छ।
यद्यपि निसानका कार्यकारी प्रमुख हिरोटो साइकावाले गोसनको पक्राउपछि उनका ‘कमजोर पक्ष’लाई प्रचार गर्दै पर्चाबाजी नै गरेका थिए। उक्त प्रचारलाई रेनल्टले शङ्काको दृष्टिबाट लिएको छ।
गोसनलाई निसानको अध्यक्षबाट हटाउने निर्णय कम्पनीको सल्लाहाकार समिति र रेनल्टका पूर्व कार्यकारी प्रमुखको उपस्थितिमा भएको थियो। जापानी सञ्चारमाध्यमले गोसनका विषयमा उठेका प्रश्नहरूमाथि एकै दिनको छलफलबाट समाधान निस्कने सम्भावना नरहेको बताएका छन्।
जापानी अभियोजनकर्ताहरूले गोसनलाई ४४ करोड अमेरिकी डलर बराबरको तलब रकमलाई स्रोत नखुल्नेगरी लुकाएर सन् २०१५ पछिका करिब पाँच वर्षको अवधिमा अनियमितता गरेको आरोप लगाएका छन्। उनले पछिल्ला तीन वर्षमा अरू थप रकम अनियमितता गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
निसानले आगामी जनवरीमा विशेष बैठक बोलाउने र यसैबाट नेतृत्व छनोट गर्ने अपेक्षा गरिएको छ।
गोसनलाई कम्तीमा डिसेम्बरसम्म हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको छ। आगामी दुई/तीन दिनभित्र कि त अभियोजनकर्ताहरूले नयाँ आरोपहरू लगाउने छन् वा अनुसन्धानका लागि थप १० दिनको सुरक्षा नियन्त्रणमा राख्ने अनुमतिका लागि माग गर्नेछन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।