काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठक लम्बिने भएको छ।
परिमार्जित विधानलाई पारित गर्न बोलाइएको बैठकमा विधान नै पेस हुन नसकेपछि लम्बिने भएको हो।
पूर्व निर्धारित समयअनुसार आज सक्नुपर्ने बैठक कति दिन लम्बिने भन्नेमा नेताहरू नै स्पष्ट छैनन्। बैठक हाल भइरहेको स्थान योगाम्बर पार्टी प्यालेसमा बुधबारसम्म बैठक बस्ने छ। बिहीबारबाट बैठक केन्द्रीय कार्यालय सानेपा सारिने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी गराए।
बैठकको बीचमै बेलाबेलामा केन्द्रीय कार्य समितिको बैठक बस्दै आएपनि विधानमा सहमति जुट्न भने सकेको छैन। हिजो राती अबेरसम्म बसेको बैठकले विवाद मिलाउन नसकेपछि मंगलबार पुन बैठक बोलाइएको थियो। विधान बैठकमा मंगलबार पेस नभएपछि बैठकमा हो-हल्ला भएको थियो। विधानका लागि भन्दै बैठक तीन घन्टा रोकिएको थियो। त्यस बीचमा पनि शीर्ष तहका नेताहरुबीच सहमति हुन सकेन।
विधान प्रिन्टमा गएको भनी महासमिति सदस्यहरुलाई आश्वासन दिएर बैठक सुरू गरिएको छ। एक केन्द्रीय सदस्यले भने, 'सहमति नै भएको छैन। कसरी प्रिन्टमा जान्छ?' महासमिति सदस्यहरूलाई अल्मल्याउन त्यसो गरिएको उनको भनाइ छ।
दोश्रो तहका नेताहरू सहमति पहिल्याउन बैठकमा बसिरहेको बताइएको छ।
शनिबारदेखि जारी बैठकमा बोल्ने अधिकांश महासमिति सदस्यले पार्टीमा हैकमवाद बढेको भन्दै नेतृत्वको आलोचना गरेका छन्। पार्टीमा बढ्दै गएको गुटले आगामी निर्वाचनमा पार्टी अझ कमजोर हुने चिन्ता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।