काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले दैनिक सयौंको संख्यामा नेपाली नागरिक वैदेशिक रोजगारीमा गईरहेका भएपनि सरकारले लागू गरेको फ्री-भिसा, फ्री-टिकट र न्यूनतम मानव अधिकार ग्यारेन्टीको काम नभएको बताएको छ।
सोमबार आयोगले जारी गरेको विज्ञप्तिमा अनुगमनका क्रममा फ्री-टिकट, फ्री भिसाको पूर्ण कार्यान्वयन भएको नपाइएको, आप्रवासी श्रमिकहरूमा दक्षताको कमी रहेको, वैदेशिक रोजगारमा जाने मुलुकमा बोलिने भाषा तथा कानुन समेतको पर्याप्त ज्ञानको कमी रहेको पाइएको जनाएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आयोगले कामदार विदेशीने स्थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत अनुगमन गरेको थियो। आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा विमानस्थलको श्रम कक्ष, अध्यागमन कक्षहरु एवं अध्यागमन विभागको अनुगमन गरेको थियो।
अनुगमनको क्रममा सरकारले निर्धारण गरेको मापदण्ड नपुगेको निष्कर्ष आयोगले निकालेको छ। आयोगले वैदेशिक रोजगारीमा जाने आप्रवासी श्रमिकहरूसँग, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक र अध्यागमन विभागका महा–निर्देशकसँगसमेत छलफल गरेको थियो।
छलफलपछि आयोगले प्राधिकरण र विमान कम्पनीका कर्मचारीहरूलाई मानव अधिकारमैत्री व्यवहारमा ध्यान दिन सुझाव दिएको छ।
आप्रवासी नेपाली श्रमिकहरूको समस्या समाधानतर्फ नेपाल सरकारले प्राप्त गर्ने विप्रेषणको अनुपातलाई आधार मानी आप्रवासी श्रमिकहरूको हक अधिकार संरक्षणमा प्रभावकारी योजना तथा कार्यक्रमहरू ल्याउनु समेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले नेपालमै रोजगारीको अवस्था सिर्जना गर्नु पर्नेमासमेत सरकारलाई अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।