काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत ललितपुर प्याट्रिओट्सका अलराउन्डर सनी पटेल कारबाहीमा परेका छन्।
इपिएलको मंगलबार भएको क्वालिफाइर्सअन्तर्गत काठमाडौं किंग्स ११ विरुद्धको खेलमा खेल भावनाबिपरितको व्यवहार देखाएको भन्दै कारबाही गरिएको इपिएलले जनाएको छ। कारबाही स्वरुप पटेललाई ७५ प्रतिशत म्याच फी जरिबाना र ३ डिमेरिट अंक दिइएको छ।
खेलमा आउट भएपछि पटेलले रेफ्रीसँग बिवाद गर्नुका साथै मैदान छाड्न आनाकानी गरेका थिए। खेलको ११औं ओभरमा सनी काठमाडौंका पर्दिप साहुको बलमा विकेटकिपर राजु रिजालबाट क्याच आउट भएका थिए। उनलाई अम्पायर विनयकुमार झाले आउट दिएका थिए। यद्यपी उनले बलले ब्याटमा नलागेको भन्दै मैदान छाड्न अस्विकार गरेक थिए। त्यसपछि काठमाडौंका अलराउन्डर केभिन ओ'ब्राइनले सनीलाई सम्झाउदै मैदान बाहिर पठाउन कोसिस गरेका थिए।
भिडियो रिप्लेमा पनि बलले ब्याटमा नछोएको देखिएको छ। सो ओभरमा पर्दिपले ३ विकेट लिएका थिए। यद्पयी ललितपुरले रोमाञ्चक खेलमा १ विकेटको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो।
यसअघि इपिएलमा २ खेलाडी कारबाहीमा परेका थिए। ललितपुरकै अलराउन्डर गौरव तोमारको बलिङ एक्सन बैधानिक नभएको आयोजकले जनाएको थियो। तोमारको विरुद्धमा अनफिल्ड अम्पायरले रिपोर्ट गरेपछि भिडियो विश्लेषण गरिएको थियो। भिडियो हेरेपछि बलिङ अबैधानिक भएकाले उनलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको छ।
भारत उत्तर प्रदेशका २७ वर्षीय तोमारले पहिलो खेलमा विराटनगरविरुद्ध ३ विकेट तथा दोस्रो खेलमा चितवन टाइगर्सविरुद्ध १ विकेट लिएका थिए। पोखरा राइनोजविरुद्ध भने उनले विकेट लिन सकेका थिएनन्।
यस्तै पोखरा राइनोजका विकेटकिपर ब्याट्सम्यान सुभेन्दु पाण्डे पनि कारबाहीमा परेका थिए। उनले विराटनगर वारियर्सविरुद्धको खेलमा खेल भावना विपरितको व्यवहार देखाएका भन्दै कारबाही स्वरुप उनको एक अंक घटाइएको छ भने १० प्रतिशतक म्याच फि जरिवाना तिराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।