काठमाडौं–मनाङ मर्स्याङ्दी क्लब उपाधि यात्रामा बलियो बन्दै गएको छ। लिगमा बलियो मानिएको मध्ये एक क्लब च्यासल युथ क्लबमाथि ३–१ को जित निकाल्दै मनाङ उपाधितर्फ लम्किएको हो।जारी लिगमा एक्लो अपराजित टिम मनाङले जितसँगै लगातार नवौं खेलमा जित हात पार्न सफल भयो।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले खेलको १६ मिनेटमा अग्रता लियो। मनाङका लागि अडेलाजा सोमिडेले सिक्य यार्ड बक्सबाट गोल गरेका थिए। उनलाई गोल गर्न ओलावाले अफिजले पास उपलब्ध गराए।
पहिलो हाफमा १–० ले अघि रहेको मनाङले ७२ मिनेटमा अग्रता दोब्बर पारेको थियो। मनाङका लागि ओलावालेले दोस्रो गोल गरे। त्यसअघि उनको गोल गर्ने प्रयासमा च्यासलका गोलकिपर दिनेश थापामगर बाधक बनेका थिए।
८८ मिनेटमा मनाङले तेस्रो गोल गर्न सफल भयो। विमल रानाले मनाङका लागि तेस्रो गोल गरेका थिए। ८४ मिनेटमा विशाल राईको स्थानमा मैदान छिरेका उनी ४ मिनेटमै गोल गर्न सफल भए।
खेलको अन्तिम मिनेटमा च्यासलले पेनाल्टीको अवसर पायो। मनाङका डिफेन्डर मोहमद आसिफले डिबक्स भित्र ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा देवेन्द्र तामाङले गोल गरेका थिए। सो गोल सान्त्वनामै सीमित बन्दा खेलमा मनाङ ३–१ ले विजयी भयो।
जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको मनाङले ९ खेलबाट २७ अंक जोडेको छ। दोस्रो स्थानको संकटाको २४ अंक छ भने एक खेल कम खेलेको तेस्रो स्थानको थ्रीस्टारको २१ अंक छ। थ्रीस्टारले महत्वपूर्ण खेलमा बुधबार त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।