काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत ललितपुर प्याट्रिओट्स फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा काठमाडौं किंग्स ११ लाई १ विकेटले पराजित गर्दै ललितपुरले फाइनलमा स्थान पक्का गरेको हो।
हारपछि पनि काठमाडौंले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ। बुधबार भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीचको विजेतासँग काठमाडौंले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
मंगलबार अन्तिम ओभरमा ललितपुरलाई जितका लागि ९ रन चाहिएको स्थितिमा बलिङमा काठमाडौंका जितेन्द्र मुखिया आएका थिए। पहिलो बलमा सूर्य तामाङ १ रनमा रनआउटको सिकार बने। तर बाँकी ५ बलमा योगेन्द्रसिंह कार्कीले ८ रन लिएँ। उनले अन्तिम ४ बलमा कुदेर २-२ रन लिन सफल भएका थिएँ।
काठमाडौंले दिएको १ सय ९ रनको लक्ष्य ललितपुरले अन्तिम बलमा ९ विकेटको क्षतिमा पार गर्यो। ललितपुरको जितमा योगेन्द्रसिंह कार्कीले नटआउट २८ रन जोडे। उनले २९ बलमा १ चौका प्रहार गरे।

ललितपुरका ओपनरद्वय जयकिशन कोल्शावाला र गौरव तोमार चल्न सकेनन्। कोल्शावालाई रोहान मुस्ताफाले ७ रनमा बोल्ड गरेका थिए। त्यसअघि गौरव तोमारलाई केभिन ओ'ब्राइनले रोहान मुस्ताफाको हातबाट क्याच गराए। कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर खेलिरहदा सांसद शेखको एलबिडब्लूको धरापमा परेका थिए। उनले २२ बलमा ४ चौका प्रहार गरे।

पवन सराफ १९ रनमा आउट भए। उनलाई काठमाडौंका पर्दिप साहुले सागर पुनबाट क्याच गराए। तेहि ओभरमा उनले सन्दीप जोरालाई खाता नै खोल्न नदिइ एलबिडब्लूको धरापमा पारे। उनले ११औं ३ विकेट लिने क्रममा सनी पटेललाई डकआउटको सिकार बनाए। पर्दिपले ११औं ओभरको पहिलो, तेस्रो र चौथो बलमा विकेट लिँदा काठमाडौं खेलमा फर्किएको थियो।

१८औं ओभरको पहिलो बलमा कुशल भुर्तेल २९ रनमा आउट भएपछि खेल झन् रोमाञ्चक मोडमा पुगेको थियो। उनलाई रोहान मुस्ताफाले अमरसिंह रटेउलाको हातबाट क्याच गराए। भुर्तेलले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे। १९ औं ओभरमा सोनु तामाङलाई १ रनको झिनो स्कोरमा केभिन ओ'ब्राइनले अमरसिंहबाट क्याच गराए।
बलिङमा काठमाडौंका पर्दिप साहुले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा ११ रन मात्र खर्चिए। रोहान मुस्ताफा र केभिन ओ'ब्राइनले २-२ विकेट हात पारे। सांसद शेखले १ विकेट लिन सफल भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं १ बल खेल्न बाँकी छदा १ सय ८ रनमा अलआउट भयो। काठमाडौंका लागि ओपनर तथा कप्तान रोहान मुस्ताफाले सबैभन्दा बढी ३२ रन जोडे। उनले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर अमित श्रेष्ठ भने १२ बलमा ९ रन जोडेर आउट भए।

सुस्त खेलेका सागर पुनले २९ रन जोडे। उनले ३० बलमा समान १-१ चौका र छक्का हिर्काए। सिद्धान्त लोहानले २४ बलमा २ छक्काको मद्दतमा १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। केभिन ओ'ब्राइन र नरेश बुढाऐर १-१ रनमा आउट हुँदा राजु रिजाल खाता नै नखोली पेभिलियन फर्के। नरेश र राजुलाई पवन सराफले आउट गरेका थिए। प्रदीप साहुले ९ रन र विक्रम भुषालले २ रन भन्दा बढी जोड्न सकेनन्। जितेन्द्र मुखिया खाता नै खोल्न नपाई आउट हुदा सांसद शेख ३ रनमा अविजित रहे।
बलिङमा ललितपुरका पवन सराफले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन फ्याँक्दा १३ रन मात्र खर्चिए। योगेन्द्रसिंह कार्कीले पनि ३ विकेट हात पारे। उनले २.५ ओभरमा १८ रन खर्चिए। सनी पटेलले २ विकेट लिँदा ललितनारायण राजवंशीले १ विकेट लिन सफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।