काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता सुरु हुनुअघि ललितपुर प्याट्रिओट्सका कप्तान ज्ञानेन्द्र मल्ले नामले होइन कामले खेल जितिने बताएका थिए। उनको संकेत टिमहरुले भित्र्याएका नाम चलेका विदेशी खेलाडीतर्फ थियो।
किनकी ललितपुरमा आवद्ध भएका सबै खेलाडी भारतको स्थानीय खेलाडी थिए। उनीहरु नामले ठूला नभए पनि कामले भने उत्कृष्ट प्रदर्शन गर्न सफल भइरहेका छन्। ओपनिङ ब्याट्सम्यानद्वय गौरव तमोर र जयकिशन कोल्शावालाले उत्कृष्ट खेल्दा ललितपुरले शीर्ष स्थानमा रहेर क्वालिफायर्सको बाटो तय गर्न सफल भयो। यस्तै सनी पटेलको अलराउन्ड प्रदर्शन पनि तारिफयोग्य छ।
समूहको शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर्समा पुगेका ललितपुर र काठमाडौं किंग्स ११ बीच मंगलबार दिउँसो भिडन्त हुँदैछ।
ललितपुरको तुलनामा काठमाडौंका नाम चलेका खेलाडी छन्। उनीहरुले नाम अनुसारको खेल्दा काठमाडौंले क्वालिफायर्समा स्थान बनाउन सफल भएको हो। आयरल्यान्डका अलराउन्ड केभिन ओ'ब्राइनले काठमाडौंको टिममा बल र ब्याटमार्फत उर्जा थप्ने काम गरिरहेका छन्। सन् २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक प्रहार गरेर सनसनी मच्चाएका ओ'ब्राइनसँगै युएईका कप्तान समेत रहेका रोहान मुस्ताफा हुँदा काठमाडौं बलियो बनेको छ। नियमित कप्तान सोमपाल कामी घाइते भएपछि मुस्ताफाले काठमाडौंको नेतृत्व सम्हालिरहेका छन्।
भारतका पर्दिप साहु र सुब्रमन्यु आनन्दले पनि राम्रो खेल पस्किरहेका छन्। पर्दिपले सोमबार उत्कृष्ट बलिङ गर्दा विराटनगर वारियर्स सस्तोमै समेटिएको थियो। फलस्वरुप साविक विजेता विराटनगर प्रतियोगिताबाटै आउट हुन बाध्य भयो
समूह चरणमा भएको प्रतिस्पर्धामा ललितपुरले काठमाडौंलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। काठमाडौं अन्य सबै खेलमा भने उत्कृष्ट खेल पस्किएको थियो। मंगलबार हुने भिडन्तलाई काठमाडौंले समूह चरणको हारको बदलाको रुपमा पनि लिन सक्छ।
अर्कोतर्फ ललितपुरका कप्तान ज्ञानेन्द्रले नाम चलेका खेलाडीविरुद्ध काम गर्ने खेलाडीले जित निकाल्न सक्छन् भनाइ पुष्टि गर्न मंगलबार खेल उदाहरण बन्न सक्छ।
मंगलबारको खेलमा जित निकाल्ने टिम इपिएलको फाइनलमा पुग्नेछ।
पराजित हुने टिमलाई अर्को एक अवसर प्राप्त हुनेछ। बुधबार भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीचको विजेतासँग मंगलबार पराजित हुने टिमले प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।