एजेन्सी– युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणको ‘ड्र’ सार्वजनिक भएको छ।
सोमबार स्विट्जरल्यान्डमा भएको ‘ड्र’ अनुसार अन्तिम १६ मा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुने तय भएको छ।
यस्तै जर्मन च्याम्पियन वायर्न म्युनिख र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ। इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले जर्मन क्लब साल्केसँग खेल्नेछ। स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इटालियन क्लब युभेन्ट्बीच खेल हुनेछ।
इंग्लिस क्लब टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनिस च्याम्पियन बार्सिलोनाले फ्रेन्च क्लब लियोनसँग भिड्नेछ। यस्तै इटालियन क्लब रोमा र पोर्चुगिज क्लब पोट्रोले अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ। साबिक विजेता रियल म्याड्रिड र डच क्लब अजाक्सबीच खेल हुनेछ।

इंग्लिस प्रिमियर लिग खेल्ने चार क्लब तथा स्पेनिस ला लिगका ३ टिम पनि अन्तिम १६ मा पुगेका थिए।नकआउट चरणका खेल फ्रेबुअरीको दोस्रो सातादेखि सुरु हुनेछ।
अन्तिम १६ पुगेका टिम
बोरुसिया डर्टमुन्ड (जर्मनी), एट्लेटिको म्याड्रिड (स्पेन), बार्सिलोना (स्पेन), टोटनह्याम (इंग्ल्यान्ड), पिएसजी (फ्रान्स), लिभरपुल (इंग्ल्यान्ड), पोर्टो (पोर्चुगल), साल्के (जर्मनी), वायर्न म्यूनिख (जर्मनी), अजाक्स (नेदरल्यान्ड्स), म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), लियोन (फ्रान्स), रियल म्याड्रिड (स्पेन), रोमा (इटाली), युभेन्ट्स (इटाली) र म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।