काठमाडौं– कतार क्रिकेट संघले आफ्नो राष्ट्रिय दिवस (नेशनल डे) को उपलक्ष्यमा आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट खेलमा नेपालका २ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
मंगलबार कतारमा कतारको राष्ट्रिय क्रिकेट टिम र अन्य अन्य देशका खेलाडी सम्मिलित टिमबीचको मैत्रीपूर्ण क्रिकेट खेल हुन लागेको हो। जहाँ नेपाली राष्ट्रिय टिमबाट लामो समय खेलेका स्पिनर सञ्जम रेग्मी र उमेर समूहका खेलाडी हसिम अन्सारीले प्रतिनिधित्व गर्न लागेका हुन्। नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिलाई खेलाडी पठाउन कतारले पत्र पठाएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जनाएका छन्।
नेपाली राष्ट्रिय टिमका अधिकांस खेलाडी र अन्य खेलाडीहरु समेत एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगितामा ब्यस्त रहेकाले इपीएल टोलीमा सहभागी नरहेका सञ्जम र हसिमलाई सो मैत्रीपूर्ण खेल खेल्न पठाउने निर्णय गरेका निर्वाचित क्यानले जनाएको छ। दुवै खेलाडी सोमबार विहान कतार एयरवेजको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका छन्।
खेलाडीलाई क्यानका उपाध्यक्ष दीवाकर घलेले विदाई गरेका थिए। दुवै खेलाडीले एक खेलको ८/८ सय डलर (९० हजार रुपैयाँ भन्दा बढि) म्याच फी पाउने क्यानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।