काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पिपयन विराटनगर वारियर्स समूह चरणबाटै बाहिरिएको छ। सोमबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं किंग्स ११ सँग ५ विकेटले पराजित भएपछि विराटनगर बाहिरिएको छ।
समूह चरणको खेल सकिदा विराटनगरले ५ खेलबाट ४ अंक मात्र जोड्न सक्यो। ४ अंक नै जोडेको चितवन टाइगर्सले विराटनगरलाई रनरेटमा पछि पार्दै दोस्रो चरणमा स्थान पक्का गर्यो। चितवनले सुरुवाती ३ खेल हारे पनि पछिल्ला २ खेलमा जित हात पारेको थियो।
समूह चरणको खेलपछि चितवनको रन रेट -0.185 हुँदा विराटनगरको -0.25 मात्र रह्यो। अब चितवनले क्वालिफायर्समा भैरहवा ग्लाडियर्टसँग भिड्नेछ। यता ललितपुर प्याट्रिओट्स र काठमाडौंबीच हुनेछ। दुवैले ८-८ अंक जोडे। काठमाडौं र ललितपुरबीच मंगलबार खेल हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ।
चितवन र भैरहवाबीच बुधबार खेल हुनेछ। हार्ने टिम बाहिरनेछ। जित हात पार्ने टिम र पहिलो क्वालिफायर्समा हार्ने टिमबीच बिहिबार दोस्रो क्वालिफायर्स हुनेछ। दोस्रो क्वालिफायर्समा जित्ने टिम फाइनलमा पुग्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।