नोहपेन्ह– कम्बोडियाका भन्सार अधिकारीहरूले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलव २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन्।
कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै सबैभन्दा बढी हो।
नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार १ हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए। विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीसिकारी हुने पारवहन मुलुकका रुपमा हेर्ने गरिन्थ्यो।
भन्सार विभागका निर्देशक सन छ्याएले हात्तीको बहुमूल्य दाह्रा त्यसै छाडिएको कन्टेनरभित्र फेला परेको बताए।
उनले उक्त कन्टेनर गत वर्ष नै दक्षिण अफ्रिकी देश मोजाम्बिकबाट आएको जानकारी दिए।
पहिचान नखुलेको उक्त कन्टेनरका मालिक हालसम्म सम्पर्कमा नआएको उनले बताए।
सन छ्याएले उक्त सामग्री अरु मुलुक पठाउन यहाँको बन्दरगाह प्रयोग गरिएको हुनसक्ने बताए।
चीन र भियतनाममा बढ्दो मागका कारण तस्करहरूले वन्यजन्तुका आखेटोपहार ढुवानी गर्न कम्बोडियाको मार्ग प्रयोग हुने गरेको छ।
कम्बोडियाको कमजोर कानुनी व्यवस्था एवम् भ्रष्टाचारका कारण वन्यजन्तुको तस्करी बढेको छ।
खासगरी छिमेकी मुलुक थाइल्यान्डले उक्त प्रतिबन्धित व्यापारमाथि कडाइ गरेपछि तस्करहरू कम्बोडियातर्फ आकर्षित भएको पाइएको छ।
चीन र भियतनाममा हात्ती र गैंडाका हाडखोरलाई परम्परागत औषधि र अन्य चिकित्सा क्षेत्रमा प्रयोग गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।