काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले वर्तमान सरकार इतिहासकै निकम्मा भएको ठहर गरेका छन्।
शनिबारदेखि आयोजित महासमितिको बैठकको उद्घाटन सत्रमा बोल्ने कांग्रेका पूर्व र वर्तमान पदाधिकारीले सरकारको दश महिने कार्यकाल असफल रहेको दाबी गरेका हुन्।
देशकै शासनसत्ता सञ्चालन गर्ने सरकारको मुख्यालय सिंहदरबार गेट नजिकै यलम्बर पार्टी प्यालेमा आयोजित बैठक उद्घाटन सत्रमा उनीहरू सरकार विरुद्ध खनिएका हुन्।
सभापति शेरबहादुर देउवाले सरकार पूर्ण असफल भएको बताए। सरकारको गतिविधिले सरकार अधिनायकवादतिर लागेको आरोप लगाए। शान्ति सुरक्षा कायम गर्न सरकारले नसकेको उनको भनाइ थियो। निर्मला पन्तको हत्यारा बचाउन सरकार नै लागेको आरोप उनले लगाए।
संघीयता कार्यान्वयन गर्न सरकार चुकेको बताउँदै सभापति देउवाले भने, 'प्रदेशलाई आवश्यक बजेट विनियोजन नगरेर असफल बनाउन यो सरकार लागेको छ।' बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई बिना प्रतिस्पर्धा सुम्पेको भन्दै सरकारको चर्को आलोचना गरे सभापति देउवाले।
गोविन्द केसीका माग सम्बोधन गर्ने तर लागु नगरेको भन्दे सभापति देउवाले ओली सरकारको कठा आलोचना गरेका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरूको सरकार पाखण्डी भएकाले नंग्याउनुपर्ने बताए। वाइडबडी जहाज खरिद प्रकरण, सुन तस्करी काण्ड, होली वाइन सेवन तथा सेचन, अदालतमा हस्तक्षेप गरी वर्तमान सरकारले बदनाम कमाएको आरोप पौडेलको थियो।
वाइडबडी काण्डमा ६ अर्ब सरकारले भ्रष्टाचार गरेको आरोप लगाएका पौडेलले सरकार किंकर्तव्यविमुढ भएको भन्दै आक्रोश व्यक्त गरेका थिए। सरकार सञ्चालनको ढंग नभएको आरोप लगाउँदै उनले वर्तमान सरकारले नयाँ वर्ग जन्माउन लागेको टिप्पणी गरे। उनले भने, 'वर्तमान सरकार शोषक वर्ग जन्माउन गइरहेको छ।'
उपसभापति विमलेन्द्र निधिले प्रदेशलाई 'पंगु' बनाइएको भन्दै सरकार विरुद्ध खनिएका थिए। अर्का उपसभापति विजयकुमार गच्छदारले ओली सरकारले संविधान चपाउन लागेको आरोप लगाए।
महामन्त्री डा शशाङ्क कोइरालाले सरकार नै भ्रष्टाचारी भएको आरोप लगाए। नारी अस्मितामाथि सरकारले खेलवाड गरेको बताएका महामन्त्री कोइरालाले मौलिक संस्कृति र धर्ममाथि सरकारले प्रहार गरेको भन्दै रोष प्रकट गरे।
अर्का महामन्त्री पूर्णबहादुर खड्काले सरकारले इतिहास मेट्ने काम गरेको जिकिर गरेका थिए।
कोषाध्यक्ष सीतादेवी यादवले ओलीको बोलीमा कमान्ड नभएको बताउँदै संविधानमाथि अतिक्रमण बढेको जिकिर गरिन्। सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले जति धेरै जहाज खरिद गर्छ, त्यति नै कमिसन खाने गरेको आरोप लगाएका थिए।
सरकारले संस्कृतिमाथि प्रहार गर्न सुरु गरेको बताएका उनले सरकारमा नहुँदा राष्ट्रवाद र सरकारमा हुँदा लम्पसारवाद कम्युनिस्ट सरकारको प्रवृत्ति भएको टीप्पणी गरे।
नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनपछि जनतालाई पुरस्कृत गर्नुपर्ने सरकारले दण्डित गरेको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।