काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारको आलोचना गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
काठमाडौंमा जारी पार्टीको महासमिति बैठकमा सम्बोधन गर्दै उनले आफ्नो विरोध गर्ने कार्यकर्तालाई ओलीको पनि विरोध गर्न सुझाए। उनले आफ्नो विरुद्धमा बोल्न पार्टीमा सबैलाई छुट भएको स्मरण गराउँदै भने, 'मेरो विरोध गर्न छुट छ। प्रजातान्त्रिक पार्टी हो। तर, माधव नेपालभन्दा बढी बोल्नुस् ओलीको विरुद्धमा। माधव नेपाल जति हिम्मत गर्नुपर्यो।'
सरकारले अधिनायवादी आकांक्षालाई आफ्नो १० महिनाको व्यवहारबाट पुष्टि गरेको देउवाले आरोप लगाए। 'संविधान संशोधनका लागि सरकारले अग्रसरता नदेखाउनु दुखको कुरा छ। शान्ति सुरक्षाको स्थिति दयनीय भएको छ। हत्या, अपहरण तथा बलात्कार जस्ता घटना बढेका छन्', उनले भने, 'निर्मला पन्तलाई न्याय दिनु त परै जाओस्। उनलाई न्याय मागेर टाँसिएका पोस्टर च्यातेर सरकारले न्यायको आवाज दबाउन खोजिरहेको छ।'
देउवाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई सरकारले नै बचाउन खोजिरहेको आरोप लगाए।
संघीयता संस्थागत अभिवृद्धिका लागि आवश्यक कानुन अधिकार र बजेट उपबल्ध नगराई सरकार संघीयता नै असफल बनाउने षडयन्त्र गरिरहेको आरोप लगाए।
उनले महंगी बढेर गरिब समृद्धिका लागि देखाइएका आकाशे सपनाहरु एकातिर हावादारी भएको पुष्टि भएको छ बताए।
देउवाले मिडियामाथि सरकारले हस्तक्षप गरिरहेको बताए।
गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी छोड्नुपरेको स्मरण गर्दै देउवाले अब कसैले पार्टी छोड्नुनपर्ने अवस्था नआओस् भन्ने आफूले चाहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।