काठमाडौं- साहित्यकार माघव घिमिरेले वरिष्ठ संगितकार द्वय अम्बर गुरुङ र नातिकाजी श्रेष्ठका कारण आफू राष्ट्रकवि भएको बताएका छन्।
नातिकाजी स्मृति समाजद्वारा आयोजित संगित महर्षि नातिकाजी श्रेष्ठको ९३औं जन्मजयन्तिका अवसरमा घोषित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा घिमिरेले आफू राष्ट्रकवि हुनुको पछाडि संगितकारद्वय गुरुङ र श्रेष्ठको हात रहेको बताएका हुन्।
‘एकान्तमा बसेर गीत लेखें। त्यसलाई संगीत भर्ने काम अम्बर र नातिकाजीले गरे। उनले संगीत नभरेको भए आज म राष्ट्रकवि हुने थिइनँ। अम्बर गुरुङ र नातिकाजीले नै मलाई राष्ट्रकवि बनाएका हुन्। उनीहरु मरेर गए तर आत्मा जीवित छ,’ राष्ट्रकवि घिमिरेले भने।
यी हुन् सम्मानित स्रष्टा
कार्यक्रममा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७४ बाट एलपी जोशी सम्मानित भएका छन्।
त्यस्तै, नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट रामप्रसाद श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, डा. भोला रिजाल, रमेश ताम्राकार, डा. अरुण सायमी, पुष्करलाल श्रेष्ठ सम्मानित भएका छन्।
नातिकाजी राष्ट्रिय विशेष संगीत पुरस्कारबाट सुवासचन्द्र ढुंगेल, कोमल वली, राजेशपायल राई पुरस्कृत भएका छन्।
त्यसैगरी नातिकाजी संगीत प्रतिभा पुरस्कारबाट लक्ष्मण शेष, प्रमोद खरेल, मीना निरौला पोखरेल पुरस्कृत भए। नातिकाजी स्मृति समाज योगदान सम्मानबाट सिद्धिराज शर्मा सम्मानित भएका थिए।
साहित्यकारको उपचारमा शतप्रतिशतसम्म छुट
वरिष्ठ साहित्यकार डा. भोला रिजालले साहित्यिक क्षेत्रका स्रष्टाको उपचारमा नेपाल मेडिकल कलेजले अवस्था हेरेर २५ देखि शतप्रतिशतसम्म छुट दिने बताए।
सम्मानित व्यक्तित्वका तर्फबाट बोल्दै डा रिजालले उपचार पाउन कोही पनि नागरिक बञ्चित हुनु नपर्ने बताएका थिए। उनले भने, 'पुरस्कारले राष्ट्रका लागि के योगदान गर्न स्रस्टाहरुमा उर्जा थपेको छ। राष्ट्रकविले गीत, संगीत क्षेत्रमा पुर्याएको योगदान आफैंमा अनुकरणीय रहेको छ।'
कार्यक्रममा राष्ट्रपति घिमिरेलाई अभिनन्दन समेत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।