काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको आलोचना गरेका छन्।
काठमाडौंमा सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता पौडेलले सरकारलाई कामको मेसो नभएको आरोप लगाए।
उनले कांग्रेसले चुनावमा हारेका कारण राष्ट्रको विकास पनि हारेको बताए। 'कांग्रेस हारेका कारण समृद्धिको सपना पनि हारेको छ। आज यो सरकार किंकर्तव्यविमुढ भएको छ। यसलाई काम गर्ने मेसै छैन। ढंगै छैन', उनले थपे, 'विपक्षीले काम गर्न दिएनन् भन्छन्। यो नाच्न जान्दैन आँगन टेढो भनेजस्तै हो।'
उनले अहिलेको सत्ता नयाँ वर्ग जन्माउनेतिर गइरहेको आरोप लगाए। सारा शासन यन्त्रलाई आफ्नो पार्टीको कार्यकर्ताको लागि उपयोग गरेर राज्यको ढुकुटी आफ्नै लागि प्रयोग गरेर नयाँ शोषक वर्ग जन्माउनेतिर यो सत्ता गइरहेको छ', पौडेलले भने।
उनले मार्क्सवादको सपना देखाएर, कम्युनिजमको आदर्श देखाएर सत्तामा पुगेको नेता होली वाइन खुवाएर मार्क्सवाद ल्याउन खोजेको बताए। 'साम्यवाद आउँछ', प्रश्न गर्दै उनले भने, 'यस्ता पाखण्डहरुलाई हामीले उद्घाटन गर्नुपर्छ। जनताको बीचमा नंग्याउनुपर्छ।'
उनले बिपीको बाटो नछाडेको बरु उनको सपनालाई साकार बनाएको दाबी पौडेलले गरे।
पौडेलले पार्टीभित्रको एकतामा जोड दिए। उनले मुद्दा कार्यशैली र पार्टीका कमजोरी हटाउन एकता गर्नुपर्ने बताए। 'चुनावी हारलाई जितमा परिणत गर्न एकता हुनुपर्छ', उनले भने।
उनले त्यागको भावना राख्नुपर्ने बताए। 'पार्टीमा एकता कायम राख्ने हो तर त्यो एकता सच्चा एकता हुनुपर्छ। त्यो ठोस एकता हुनुपर्छ। पार्टीको कमजोरी हटाउनेतिर उन्मुख एकता हुनुपर्छ। नेपाली कांग्रेको प्रभाव बढ्नेतिर एकता हुनुपर्छ', उनले भने।
उनले आफूले गुटबन्दी गर्न नजानेको बताए। 'गुटबन्दीले पार्टीलाई नोक्सान पुर्याएको छ। तर राजनीतिमा गुटबन्दी बिपीकै पालादेखि थियो', उनले भने।
विधान राम्रो भएको र नमिलेका केही कुराहरु पनि मिल्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।