काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौं किंग्स ११ प्लेअफमा पुगेको छ। भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले हराउँदै काठमाडौं प्ले अफमा पुग्ने तेस्रो टिम बन्यो।
यसअघि भैरहवा र ललितपुर प्याट्रिओट्सले पनि प्लेअफमा स्थान पक्का गरेका थिए।
शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा भैरहवाले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १ सय ४९ रन जोड्यो। ओपनरद्वय प्रदीप ऐरी शून्य र हरिशंकर साह ४ रनमा आउट भएपनि रवि इन्दर सिंहले ८६ रन जोड्दै भैरहवाको इनिङ सम्हाले। उनले ६१ बलमा ६ चौका र ४ छक्का हिरक्ए। रायन टेन डोकास्टे २० बलमा १२ रन जोडेर आउट भए। कप्तान शरद भेषवाकरले अन्तिम बलमा जितेन्द्र मुखियाबाट बोल्ड हुनुघि ३१ बलमा ३९ रन जोड्न सफल भए।
बलिङमा काठमाडौंका जितेन्द्रले २ विकेट लिँदा परदिप साहु र केभिन ओ’ब्राइनले १–१ विकेट लिए।
१ सय ५० रनको लक्ष्य काठमाडौंले १९.१ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। काठमाडौंका लागि अमित श्रेष्ठले ४६ बलमा ५१ रन जोडे। रोहान मुस्ताफाले ३६ रन बटुल्दा सागर पुनले १३ रन जोडे। केभिन ओ’ब्राइनले १५ बलमा ५ चौका र १ छक्काको मद्दतमा नटआउट ३३ रन जोडे।
चितवन टाइगर्सले पोखरा राइनोजलाई हरायो
यता दिनको दोस्रो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ७ विकेटले हराउँदै प्ले अफ पुग्ने सम्भावन बाँकी नै राख्यो।
पहिले ब्याटिङ गरेको पोखराले ५ विकेटको क्षतिमा १ सय २९ रन जोड्यो। पोखराका लगि कप्तान केल कोइट्जरले १७ बलमा २३ रन जोड भने विनोद भण्डारीले ३६ बलमा २७ रनको योगदान दिए। सुनील धमालले ४२ बलमा ५१ रनको अर्धशतकीय पारी खेलेका थिए। पाउल काउलिन भने रन जोड्न नपाइ आउट भए। राजेश पुलामीमगर १२ रनमा आउट भएका थिए। जीवनको अन्तिम खेल खेलेका शक्ति गौचन १ बलमा १ रनमा नटआउट रहे।
बलिङमा चितवनका जर्ज स्टकले ३ विकेट लिए। ललित भण्डारीको नाममा २ विकेट रह्यो।
१ सय ३० रनको लक्ष्य चितवनले १९ ओभरमा ३ विकेट गुमाएर पार गर्यो। उसक लागि ओपनिङ ब्याट्सम्यान पाउल स्टर्लिङले ४६ बलमा ५ चौका र २ छक्का हिर्काउदै ५५ रन जोडे। सन्दीप सुनार १० तथा जोन सिमसन ९ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरीले नटआउट ५४ रन जोडे। उनले ४६ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
बलिङमा नन्दन यादवले २ विकेट लिँदा सुसन भारीको नाममा १ विकेट रह्यो। जीवनको अन्तिम खेल खेलेका शक्तिले ४ ओभर बलिङ गर्दा २५ रन खर्चिए भने विकेट लिन सकेनन्।
अब आइतबार समूह चरणका अन्तिम खेल सुरु हुनेछन्। आइतबार पहिलो खेलमा भैरहवा र ललितपुरबीच खेल हुनेछ। दोस्रो खेलमा सोमबार विराटनगर वारियर्स र काठमाडौंबीच खेल हुनेछ।
भैरहवा, ललितपुर र काठमाडौं प्लेअफमा पुगिसकेकाले तीन टिमका लागि खेल शीर्ष स्थानमा रहनका लागि हुनेछ। विराटनगरका लागि प्लेअफमा पुग्न काठमाडौंलाई हराउनै पर्ने बाध्यता छ। विराटनगर पराजित भएको अवस्थामा चितवनको भाग्य खुल्न सक्नेछ। थोरै अन्तरले पराजित भएमा विराटनगर हारेर पनि प्लेअफमा पुग्ने समिकरण पनि बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।