काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लबले सातौं जित हात पारेको छ। आठौं चरणको अन्तिम खेलमा थ्रीस्टारले मच्छिन्द्र क्लबमाथि १–० को जित निकालेको हो। जितसँगै थ्रीस्टारले शीर्ष स्थानको मनाङ मस्याङ्दी क्लबलाई दबाब दिँदै गएको छ।
थ्रीस्टारलाई जित दिलाउने क्रममा ११ मिनेटमा रन्जित धिमालले गोल गरे। उनले प्राप्त पेनाल्टीको अवसर सदुपयोग गर्दै जित निकालेका हुन्।
त्यसअघि भएको दिनको पहिलो खेलमा च्यासल युथ क्लब विजयी भयो।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबललाई २–० गोलले पराजित गर्दै जारी लिगमा च्यासलले चौथो जित निकालेको हो।
च्यासललाई जित दिलाउन सन्तबहादुर गुरुङ र सञ्जोक राईले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै च्यासलले जित निकालेको हो।
खेलको ६५ औँ मिनेटमा सन्तले गोल गर्दै च्यासललाई शुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८२ औँ मिनेटमा सञ्जोकले गोल गर्दै च्यासललाई २–० को जित दिलाए।
शनिबारका खेलसँगै लिगको आठौं चरणका खेल सकिएका छन्। लिगमा शीर्ष स्थानको मनाङ मस्याङ्दी क्लबको २४ अंक छ। दोस्रो स्थानको थ्रीस्टारको २१ अंक छ। तेस्रो स्थानको संकटाले पनि २१ अंक नै बटुलेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।