काठमाडौं- साँझ परेको दृश्य। घरअगाडि उभिरहेको छ गाउँले युवक। पृष्ठभूमिमा गुञ्जिएको उदासी धुन। धुनजस्तै उदास देखिन्छ उसको अनुहार। वरिपरिको शून्यताबीच उसको अन्तिम स्वर सुनिन्छ, र विस्तारै अँध्यारो हुन्छ।
लोकनाटक ‘लिलामे माइलो’को अन्तिम दृश्य हेरिरहँदा दर्शकका आँखा भने रसाएझैं लाग्छ।
OOO
पूर्वी नेपाल, मगर समुदायको बाहुल्य रहेको ठाउँ। जहाँ आफ्नै संस्कृति छ। पुराना मूल्य र मान्यता व्याप्त छन्। त्यहाँ मानिसहरू शिक्षाबाट वञ्चित छन्। प्रायः युवा बेरोजगार छन्। चेतनाको कमीले साना कुराहरूले आन्तरिक कलह निम्त्याउँछन्।
कसैको प्रशस्त जग्गा छैन। सम्भ्रान्त वर्ग ‘जिम्वाल’ हाबी हुन्छन्। बाउबाजेको ऋणका कारण अर्को पुस्ता कमारो हुने बाध्यात्मक परिस्थिति छ। यही अँध्यारो गाउँको प्रतिनिधि कथा हो, लोकनाटक ‘लिलामे माइलो’।
झट्ट सुन्दा कथा पुरानै लाग्छ। तर, कथालाई नाट्य रुपान्तरण गर्दा नयाँ शैली अपनाइएको छ। अर्थात् कथा पुरानै, प्रस्तुति नयाँ। नाटकमा प्रयोग भएका बाजाले मौलिकता झल्काएका छन्।
जब नाटक सुरु हुन्छ। लाग्छ, हामी कुनै गाउँमा गएका छौँ। पृष्ठभूमिमा बजिरहने धुन,‘ देशै रमाइलो..’ गीतले नाटकलाई आकर्षक बनाएको छ।
नाटकको केन्द्रीय पात्र हो ‘माइलो’। जेठो र कान्छोको बिहे भइसक्दा उसको विवाह भएको हुँदैन। माइलोले बेलाबेलामा घरमा भाइबुहारीबाट अपमानित समेत हुनुपर्छ। उनीहरुका बाबु वृद्ध भइसकेका हुन्छन्।
माइलो कारुणिक पात्र पनि हो। निर्दोष भए पनि गाउँलेको नजरमा ऊ दोषी छ। ऊ अन्तर्मुखी स्वभावको छ। यही उसको कमजोरी हो।
ऊ आफ्ना पीडा प्रस्टसँग कसैलाई राख्न सक्दैन। ऊ कोमल हृदयको छ। माइलो रुन्छ, रुवाइले उसको निर्दोष चरित्रलाई दर्शाउँछ। त्यसो त ऊ हाँस्छ पनि। नाटक अवधिभर माइलोको हाँसो गज्जब लाग्छ। नाटकलाई जीवन्त बनाउने एउटा सशक्त पात्र हो ऊ। उसको हाँस्ने र रुने कला नै नाटकको सौन्दर्य हो।
ऊ परिवारको माइलो छोरा, जेठा र कान्छाको चेपोमा परेको देखिन्छ। निम्न वर्गीय परिवारमा हुर्केका हुन्छन् उनीहरु। बाबुले लिएको ऋण चुक्ता गर्न ऊ सानैमा जिम्वालकहाँ कमारो बसेको हुन्छ।
जेठो दाजु र भाउजू सहरमा गएर बस्छन्। यता घरको सबै काम माइलोकै थाप्लोमा हुन्छ।
नेपाली समुदायको वास्तविकता यही हो। घरको बाध्यताबीच माइलोको चाहना गौण हुन्छ।
माइलोसँग जोडिएर आउने अर्की पात्र हो ‘प्याकुली’। माइलो र प्याकुलीबीच प्रेम सम्बन्ध हुन्छ। घरमा सबैबाट चेपुवामा परेर असह्य भएपछि माइलोले प्याकुलीलाई बेहुली बनाएर आफ्नो घर लैजान्छ। तर बाबु प्याकुलीलाई बुहारी स्विकार्न चाहँदैनन्। बाबुको कुरा नसुनी जबरजस्ती उसले प्याकुलीलाई घरभित्र भित्र्याउँछ।
तर, केही समयमै प्याकुली माइलोसँग असन्तुष्ट हुन थाल्छे। प्याकुलीको स्वभाव र चरित्रकै कारण कथामा फरक–फरक मोड देखापर्छन्।
जब माइलोले पहिलो पटक घर लैजाँदा ऊ राजी भएर गएकी छे। त्यतिबेला कथाले एउटा मोड लियो। दोस्रो मोड त्यतिबेला आउँछ, जब प्याकुली माइलासँग असन्तुष्ट भएर छु्ट्टिन खोज्छे। कथामा तेस्रो मोड तब आउँछ, जब छुट्टिएका प्याकुलीले फेरि माइलोलाई भेटेर सँगै बस्ने प्रण गर्छे। तब प्याकेुलीकै कारण माइलो घर छाडेर उसैसँग जान्छ।
चौथो मोड, जब प्याकुलीले माइलोलाई धोका दिएर जिम्वालको छोरासँग भाग्न पुग्छे।
कथानकलाई कता डोहोर्याउने भन्ने प्याकुलीको निर्णयले निर्धारण गरेको छ। झट्ट हेर्दा प्याकुलीको चरित्रमा खोट देखिन्छ। तर, ऊ अनौठो पात्र हो।
प्याकुली माइलोबाट किन असन्तुष्ट भई त? कथामा विशेष यही कुराले प्रधानता पाएको छ। जबकि प्याकुलीलाई माइलोले कुनै किसिमको दुःख दिएको देखिँदैन। बरु प्याकुलीको कारण माइलो चरम पीडामा पुगेको देखिन्छ। प्याकुलीको पीडाचाहिँ के त?
माइलोको कुनै दोष देखिन्न। घरमा दिनहुँ कलह बढ्न थालेपछि बाबुले समाज गुहार्छन्। समाजको अघि जिम्वालले प्याकुलीको असन्तुष्टिबारे सोध्छन्। त्यतिबेला प्याकुलीले बोलेका वाक्यले माइलोमाथि ठूलो बज्रपात भएको भान हुन्छ।
प्याकुलीले माइलोलाई इंगित गर्दै भन्छे, ‘उसको जन्तरले काम गर्दैन…।’ उसको भनाइको अर्थ माइलोबाट गर्भाधान हुन सक्दैन भन्ने बुझिन्छ। प्याकुलीले माइलोबाट पाउन नसकेको कुरा यहाँ स्पष्ट हुन्छ।
दम्पतीबीच शारीरिक सन्तुष्टिसमेत जीवनयात्राको अभिन्न पाटो हो भन्ने यो सन्दर्भले बुझाउँछ। प्याकुलीलाई माइलोबाट यौन सन्तुष्टि नमिल्नु र उसबाट गर्भाधान हुन नसक्नु प्रमुख समस्याको रुपमा देखिएको छ।
कतिपय दाम्पत्य जीवनमा दबिएर रहेका समस्या माइलो र प्याकुलीको बीचमा छ। समाजमा यस्ता समस्या हत्तपत्त बाहिर निस्कन्नन्।
प्याकुलीले आफ्नो समस्या समाजको माझ राखेपछि माइलोले चरित्र हत्या भएको महसुस गर्छ। त्यहाँ एकछिन भयको सिर्जना हुन्छ। त्यसपछि प्याकुली माइलोबाट छुट्छिन पुग्छे।
कथा यहीँबाट अन्त हुनुपर्ने हो। तर, माइलो र प्याकुली छुट्टिएको केही समयपछि पुनः मिलन भएको देखिन्छ। हाटबजारमा अचानक माइलोसँग प्याकुलीको भेट हुन्छ। प्याकुलीले आफ्नो गल्ती महसुस गर्छे र पुनः सँगै बस्ने अनुरोध गर्छे।
कोमल हृदयको माइलो पग्लिहाल्छ। पुनः प्याकुलीलाई स्वीकार गर्छ। माइलोको परिवारले पुनः अस्वीकार गरेपछि प्याकुली आफैंले माइलोलाई घर लिएर जान्छे।
उनीहरू केहीदिन त हाँसीखुसी नै बस्छन्। तर, एकदिन माइलोलाई झुक्याएर प्याकुली जिम्वालको छोरासँग भाग्न पुग्छे।
यो घटनाले माइलो निकै मर्माहत हुन्छ। यसरी नै नाटकको अन्त्य हुन्छ।
OOO
नाटक नेपाली समुदायको यथार्थ घटनामा आधारित छ। नाटकमा पात्रहरूको चयन र उनीहरूको अभिनय कलाले दर्शकलाई प्रभावित बनाउँछ।
तर, नाटक हेरेपछि केही प्रश्न उब्जेका छन्। माइलोबाट छुटिसकेकी प्याकुली किन माइलोसँग फेरि जोडिन पुगी? जुन असन्तुष्टिका कारण छुटिनुपरेको थियो, के त्यस कुरा उसले माइलोबाट प्राप्त गर्न सक्थी त?
माइलोसँग फेरि जोडिएको केही समयपछि प्याकुली जिम्वालको छोरासँग भागेको खबर आउँछ। जिम्वालको छोरासँग यदि प्रेम सम्बन्ध थियो भने माइलोसँग छुट्टिनासाथ किन भागिन? आफैले सँगै बस्ने प्रस्ताव राखे पनि पछि प्याकुली भाग्नु अस्वाभाविक जस्तो लाग्छ। माइलो पात्रमाथि अलि अन्याय भएजस्तो लाग्छ।

यी प्रश्नलाई एकातिर राखेर नाटकलाई दर्शकको आँखाबाट हेर्दा विदेशी स्वाद भित्रिरहेको बेला ‘लिलामे माइलो’मौलिक स्वादको रुपमा भित्रिएको छ।
बाबुबाजेको ऋण तिर्न माइलो जिम्वालककहाँ लिलाम भएको छ। समाजबाट समेत तिरस्कृत ऊ लिलामीको वस्तुझैं बन्न विवश छ। पत्नी प्याकुलीले पनि छाडेपछि माइलो लिलामीको कुनै कवाडीझैं बन्नुपरेको छ।
प्रभावकर न्यौपानेको लेखन तथा निर्देशनमा तयार भएको नाटकका कार्यकारी निर्माता राजाराम गौतम हुन्। नाटकमा माइलोको भूमिका सलमान खान गुरुङले निर्वाह गरेका छन् भने प्याकुलीमा निशा पाख्रिन देखापरेकी छन्।
त्यसैगरी माइलेके बाबु उर्फ राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), वीरेन्द्र खाती, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), सञ्जीव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुनु), वीरेन्द्र खाती, शिला राना मगर, सचिन मल्ल (धरापे), संगीता थापा, सुनिल मगर (झप्ते), ललित मगर (लोके), चक्र विष्ट (गाउँले), पारुहाङ राई (वनकाँडे) लगातयका कलाकार नाटकमा छन्। नाटक कुञ्ज थिएटरमा चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।