काठमाडौं- नेपाली कांग्रेस महासमिति बैठकमा करीब १ हजार ६ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने भएका छन्। कांग्रेसले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबारबाट सुरु हुने पार्टी महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको र बैठकमा ५ प्रतिवेदनमाथि छलफल हुने सार्वजनिक गरेको हो।
काठमाडौंको रामशाहपथस्थित एक प्यालेसमा शनिबार बिहान ११ बजे पार्टीका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गर्नु हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 'महासमिति बैठकमा भाग लिन विभिन्न मुलुकमा रहेका पार्टीका जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भइसकेको छ,' प्रवक्ता शर्माले भने।
महासमिति बैठक उद्घाटन भएकै दिन शनिबार अपरान्हबाट बन्द सत्र सूरु हुने कार्यक्रम पनि तय गरिएको छ। महासमिति बैठक उद्घाटन भएकै दिन अपरान्हबाट बन्द सत्र सुरु हुने प्रवक्ता शर्माले बताए। बन्द सत्रमा पार्टी केन्द्रीय कार्य समितिबाट पारित पाँच वटै प्रतिवेदनहरु पेस हुनेछन्।
'पार्टीका उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक प्रतिवेदन, पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रतिवेदन, सहमहामन्त्री डा. प्रकाशशरण महतले अर्थनीति सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको आय/व्यय विवरण समेटिएको प्रतिवेदन बन्द सत्र सुरु भएकै दिन पेस गर्नु हुनेछ,' पनि प्रवक्ता शर्माले भने।
पुस १ गतेबाट महासमिति बैठकमा सो प्रतिवेदनमाथि प्रदेश स्तरीय छलफल गर्न ७ वटा समूह बनाउने छ। प्रवक्ता शर्माले पुस ३ गते मध्यान्हसम्म सो प्रतिवेदनमाथि छलफल गरी महासमिति बैठकले आवश्यक निर्णय लिने जानकारी दिए।
महासमिति बैठकले पार्टीलाई नविन उर्जा दिने विश्वास कांग्रेसले लिएको छ। कांग्रेसले भोलि शुक्रबार भने महासमिति बैठकमा भाग लिन आएका देशभरका महासमिति सदस्यहरु पार्टी कार्यालयमा स्वागत गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।