काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटाले जितको यात्रा कामयै राखेको छ। बिहीबारबाट सुरु भएको आठौं चरणमा संकटाले हिमालयन शेर्पा क्लबलाई २–० गोलले पराजित गरेको हो।
संकटा ३ मिनेट भित्र २ गोल गर्दै ३ अंक जोड्न सफल भएको हो। खेलको ११ मिनेटमा संकटाका सेड्रिक अबाले गोल गरेर आफ्नो टिमलाई पहिले अग्रता दिलाए। उनले दायाँ खुट्टाले उत्कृष्ट गोल गरेका थिए।
३ मिनेटपछि संकटाले अग्रता दोब्बर पार्यो। यसपटक दिपेश आलेमगरले गोल गरे। अमित तामाङको क्रसलाई हिमालयन शेर्पाका डिफेन्डरले फर्काएका थिए। रिबाउन्डमा दिपेशले गोल गर्न सफल भए।
दोस्रो हाफमा शेर्पा आक्रामक रुपमा उत्रियो। तर संकटाका डिफेन्डर बाधक बनिरहे।
बिहीबार हात पारेको जितसँगै संकटाले शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग अंक बराबरी गरेको छ। संकटाले ८ खेलबाट २१ अंक जोडेको छ। एक खेल कम खेलेको मनाङको पनि २१ अंक नै छ।
यता दिनको अर्को खेलमा जावालाखेल युथ क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० गोलले पराजित गरेको छ। जारी लिगमा जावलाखेलको यो दोस्रो जित हो। जावलाखेललाई जित दिलाउने क्रममा एडमा डोम्बियाले निर्णायक गोल गरे। उनले खेलको ४९ मिनेटमा फ्रिकिकमार्फत सुन्दर गोल गरेका थिए।
जितपछि जावलाखेल ८ खेलबाट ७ अंक जोड्दै दशौं स्थानमा उक्लिएको छ। एपिएफ ८ खेलबाट १० अंक जोडेर आठौं स्थानमा छ।
अंक तालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।