भक्तपुर- प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल अन्त्य गरी पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आएको बताएका छन्।
मध्यपुरथिमिस्थित शंखधर चोकमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको नेपाल संवतका प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
'हामी संविधानको पूर्ण कार्यान्वयन र संक्रमणकाल अन्त्य गर्ने चरणमा आएका छौ, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेर यसलाई पूरा गर्न सक्छौं,' उनले भने, 'निर्वाचन सफल पार्न सबैको सहयोगको खाँचो छ।'
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा लाग्न प्रेरणा दिने नेपाल संवत्का प्रवर्द्धक साख्वाको योगदानको चर्चा गर्दै उनले नेपाली जनतालाई समानताको व्यवहार गर्ने साख्वाले चलाएको यो संवत् नेपालीको मौलिक संवत् भएको पनि बताए।
प्रधानमन्त्री देउवाले सो अवसरमा शंखधर बुलेटिन विमोचन गर्नुका साथै नरेन्द्रभक्त हाडा र देवेन्द्रकुमार मल्ललाई सम्मान गरे। प्रतिष्ठानले गोरखा र दोलखाको चरिकोटमा स्थापना गर्न साख्वाको सालिक हस्तान्तरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।