काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १० खेलाडीमा सीमित सरस्वती युवा क्लबले तेस्रो जित हात पारेको छ।
सरस्वतीले बिहीबार भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई १–० गोलले पराजित गर्दै तेस्रो जित निकालेको हो। सरस्वतीको जितमा भिक्टर अमोबीले गोल गरे। उनले खेलको ७३ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। एनआरटीका डिफेन्डरले डिबक्सभित्र ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टीको अवसर पाएका थिए।
७७ मिनेटमा भिक्टरले अग्रता दोब्बर पार्ने अवसर खेर फाले। उनले दिपेश श्रेष्ठले उपलब्ध गराएको सुन्दर पासमा बललाई गोलपोस्टको दिशा दिन चुके। ८४ मिनेटमा सरस्वती १० खेलाडीमा सीमित बन्यो। सरस्वतीका फ्रान्सिसलाई रेफ्रीले दोस्रो पहेँलो कार्ड दिएर मैदान बाहिर पठाएका थिए। उनले खराब ट्याकल गरेका थिए।
जारी लिगमा एनआरटीको यो लगातार सातौं हार हो। अंक तालिकाको पुछारमा रहेको चार पटकको च्याम्पियन एनआरटीले अहिलेसम्म १ अंक मात्र जोड्न सकेको छ। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २-२ गोलको बराबरी खेलेको एनआरटीले त्यसपछिका सबै खेल गुमाएको छ।
यता तेस्रो जित हात पारेको सरस्वती भने ९ अंक जोडेर नवौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।