एजेन्सी– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति जर्मन च्याम्पियन वायर्न म्युनिख र डच क्लब अजाक्सबीचको खेल तनावग्रस्त बनेको छ। नेदरल्यान्ड्सको आम्स्टर्डममा भएको खेल ३–३ गोलको बराबरीमा सकियो भने दुवै टिमका १–१ खेलाडीले रातो कार्ड पाए। यस्तै दुवै टिमलाई १–१ पटक पेनाल्टीको अवसर दिइएको थियो।
समूह ‘ई’ को खेलमा वायर्नका लागि रोवर्ट लेवान्डोवस्कीले खेलको १३ र ८७ मिनेटमा गोल गरे। उनले दोस्रो गोल पेनाल्टीबाट गरेका थिए। ९० मिनेटमा कामनले गोल गरेपछि वायर्न ३–२ को अवस्थामा थियो।
अजाक्सका लागि टाडिकले ६१ र ८२ मिनेटमा गरी २ गोल गरे। उनले पनि दोस्रो गोल पेनाल्टीबाट गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा टाग्लियाफिकोले गोल गरेपछि खेल ३–३ को बराबरीमा सकिएको थियो।
खेलको ६७ मिनेटमै अजाक्स १० खेलाडीमा सीमित बनेको थियो। म्याक्सिमिलियन ओबेरले गम्भिर फल गरेपछि रेफ्रीले सिधा रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए।
७५ मिनेटमा वायर्न पनि १० खेलाडीमा सीमित बन्यो। वायर्नका थोमर मुलर रातो कार्ड पाउदै मैदान छाड्न बाध्य भएका थिए। उनले अजाक्सका निकोलास टाग्लियाफिकोको टाउकोमा बुटले प्रहार गरेका थिए।
दुवै क्लब यसअघि अन्तिम १६ मा पुगिसकेका थिए। बराबरीपछि वायर्न १४ अंक जोडेर समूह विजेता बन्यो भने अजाक्स १२ अंकसहित उपविजेतामै सीमित रह्यो।

यता समूह ‘एफ’ को खेलमा म्यानचेस्टर सिटीले होफेनहेमलाई २–१ ले हरायो। सिटीका लागि लिरोए सानेले पहिलो हाफको इन्जुरी टाइम र ६१ मिनेटमा गोल गरे। त्यसअघि १६ मिनेटमा होफेनहेमले कामरिकको गोलबाट अग्रता लिएको थियो।
यो समूहको अर्को खेलमा शख्तर र लियोनले १–१ को बराबरी खेले। सिटी ६ खेलबाट १३ अंक जोड्दै समूह विजेता भने लियोन ८ अंक सहित उपविजेता बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।