एजेन्सी– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति समूह चरणका खेल सकिएका छन्। समूह चरणको अन्तिम खेलमा भने चार ठूला क्लब पराजित भएका छन्। यद्यपी चारै क्लब अन्तिम १६ मा पुगे। किनकी यसअघि नै चारै क्लब अन्तिम १६ मा पुगेका थिए।
समूह ‘एच’ बाट अन्तिम १६ मा पुगेका युभेन्ट्स र म्यानचेस्टर युनाइटेड अन्तिम खेलमा भने पराजित भए। ६ खेलबाट १२ अंक जोडेर अन्तिम १६ मा पुगेको इटालियन च्याम्पियनलाई समूह चरणको अन्तिम खेलमा योङ ब्वाइजले २–१ गोल अन्तरले पराजित गर्न सफल भयो। घरेलु मैदानमा जित निकाल्ने क्रममा ब्वाइजका होबराउले खेलको ३० मिनेटमा पेनाल्टीमार्फत र ६८ मिनेटमा गोल गरेका थिए। युभेन्ट्सका लागि पाब्लो डिबालाले ८० मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।

यता इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई स्पेनिस क्लब भ्यालेन्सियाले २-१ ले हरायो। भ्यालेन्सियाका लागि सोलेरले १७ मिनेट गोल गरेर अग्रता दिलाए। ४७ मिनेटमा म्यानचेस्टरका जोन स्टोन्सले आफ्नै पोस्टमा गोल गरेपछि भ्यालेन्सियाको अग्रता दोब्बर भयो। खेल सकिन छदा म्यानचेस्टरका मार्कोस रास्फोडले गोल फर्काएका थिए। म्यानचेस्टर १० अंक जोड्दै यसअघि अन्तिम १६ मा पुगिसकेको थियो। अन्तिम खेलमा जित हात पारेर ८ अंक जोडेपछि भ्यालेन्सिया यसअघि नै बाहिरिसकेकाले त्यसको अर्थ रहेन।

समूह ‘जी’ बाट अन्तिम १६ मा पुगेका स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब रोमा पनि पराजित भए। रियललाई सिएसकेए मस्कोले ३–० गोलले पराजित गरेको छ। मस्कोको जितमा कालोभले ३७, स्चेनिकोले ४३ र सिगुर्डसनले ७३ मिनेटमा गोल गरे।
रोमालाई भिक्टोरिया प्लाजनले २–१ गोलले हरायो। प्लाजनक लागि कोभारिकले ६२ र च्यारीले ७२ मिनेटमा गोल गरे। त्यसअघि रोमाका अन्दरले ६७ मिनेटमा बराबरी गोल फर्काएका थिए। समूह ‘जी’ को शीर्ष स्थानमा रहेको रियलले १२ अंक र रोमाले ९ अंक जोडे। बाहिरिएका प्लाजन र मस्कोले ७–७ अंक जोडे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।