बार्सिलोना- स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनाले जर्मन क्लब वायर्न म्युनिखको रेकर्डसँग बराबरी गरेको छ। युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति इंग्लिस क्लब टोटनह्यामसँग १-१ को बराबरी खेलेको बार्सिलोनाले घरेलु मैदानमा अपराजित हुने रेकर्डसँग बराबरी गरेको हो।
टोटनह्यामसँग बराबरी खेलेसँगै बार्सिलोनाले घरेलु मैदानमा अपराजित खेल संख्या २९ पुर्यायो। खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले उस्मान डेम्बेलेको गोलबाट लिएको थियो। सातौं मिनेटमा डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर लुकास मोउराले ८५ मिनेटमा बराबरी गोल फर्काउदै टोटनह्यामलाई अन्तिम १६ को यात्रा गराए। बराबरीले टोटनह्यामलाई च्याम्पियन्स लिगको अन्तिम १६ मा पुर्यायो।
यसअघि नै अन्तिम १६ मा पुगेको बार्सिलोनाका लागि भने घरेलु मैदानमा अपराजित संख्याको रेकर्ड बन्यो। बार्सिलोनाले घरेलु मैदानमा खेलेका पछिल्ला २९ खेल मध्ये २६ खेलमा जित हात पारेको छ भने ३ खेलमा बराबरीमा रोकिएको छ।
यसअघि सन् २००२ को अप्रिलसम्म वायर्नले घरेलु मैदानमा २९ खेलसम्म अपराजित हुँदै रेकर्ड बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।