लिभरपुल– युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत इंग्लिस क्लब लिभरपुलले अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएको छ।
समूह ‘सी’ को खेलमा लिभरपुलले इटालियन क्लब नापोलीलाई १–० गोलले पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको हो। नापोली विरुद्ध महत्वपूर्ण जित दिलाउने क्रममा मोहमद सलाहले निर्णायक गोल गरे। उनले खेलको ३४ मिनेटमा गोल गरेका थिए।
अघिल्लो चरणमा पुग्न जितसहित ‘क्लिनसिट’ मा रहनु पर्न अवस्थामा रहेको लिभरपुल समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो।
यता समूहको शीर्ष स्थानमा रहेर यसअघि नै नकआउट चरणमा पुगेको फ्रेन्च च्याम्पियन पिएसजीले रेड स्टार बेलग्रेटलाई ४–१ गोलअन्तरले पराजित गरेको छ। पिएसजीका लागि काभानी, नेइमार, मार्क्युन्होस र एमबाप्पेले गोल गरे।
समूह ‘सी’ को शीर्ष स्थानको पिएसजीले ६ खेलबाट ११ अंक जोड्यो। दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको नापोलीले ९–९ अंक जोडे। रेड स्टारले ४ अंक मात्र जोड्न सक्यो।
यता समूह ‘डी’ को खेलमा पोर्चुगलको एफसी पोर्टोले टर्कीको गलातासारेलाई ३–२ तथा जर्मन क्लब साल्केले रसियन क्लब लोकोमोटि मस्कोलाई १–० ले हराए। पोर्टो १६ अंक तथा साल्के ११ अंक जोडेर अन्तिम १६ मा पुग्न सफल भए। ४ अंक जोडेको गालातासारे र ३ अंक जोडेको मस्को बाहिरिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।