बार्सिलोना– युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत स्पेनिस महारथी बार्सिलोनालाई बराबरीमा रोक्दै इंग्लिस क्लब टोटनह्यामले अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएको छ।
समूह ‘बी’ अन्तर्गत मंगलबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले बार्सिलोनालाई १–१ को बराबरीमा रोकेको हो।
खेलको सातौं मिनेटमा डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर लुकास मोउराले ८५ मिनेटमा बराबरी गोल फर्काउदै टोटनह्यामलाई अन्तिम १६ को यात्रा गराए।
यता यो समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलान बराबरीमा रोकिदा पनि टोटनह्यामलाई फाइदा पुग्यो। मिलानलाई पिएसबीले १–१ गोलको बराबरीमा रोकेको हो।
समूहको खेल सकिदा शीर्ष स्थानको बार्सिलोनाले ६ खेलबाट १४ अंक जोड्यो। टोटनह्याम र इन्टरले ८–८ अंक जोडे। गोलअन्तरमा टोटनह्याम अघि रहदै नकआउट चरणमा पुग्न सफल भयो।
यता समूह ‘ए’ को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई क्लब बर्गले गोलरहित बराबरीमा रोकेको छ। यता फ्रेन्च क्लब मोनाकोलाई २–० गोलले हराउदै जर्मन क्लब बोरुसिया डर्टमुन्ड समूह विजेता बन्यो। समूहमा डर्टमुन्ड र एट्लेटिकोले १३–१३ अंक जोडे। गोलअन्तरमा डर्टमुन्ड अघि रहन सफल भयो। ६ अंक जोडेको बर्ग र १ अंक जोडेको मोनाको भने बाहिरिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।