भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथजनकपुर आउनु ठूलो ऐतिहासिक घटना हो। उनलाई स्वागत गर्नैपर्ने हुन्छ। किनभने, हाम्रो परम्परा नै छ-अतिथि देवो भवः।
यहाँ एउटा प्रश्न के छ भने २०६१ देखि ५–५ वर्षमा जन्ती आउने चलनको सुरुवात गरिएको थियो। यो वर्ष जन्ती आउने तिथि होइन, अर्को वर्ष हो। तर, एक वर्षअघि नै योगीको नेतृत्वमा जन्ती आउन लागेको छ। यसमा राजनीतिक गन्ध आइरहेको देखेको छु।
कतैकतै राजनीति र धर्म मिसिएको अर्थात् धर्म र राजनीतिबीच खिचडी पाकिरहेको मलाई अनुभूति भइरहेको छ। उनको पृष्ठभूमि हेर्दाखेरि हिन्दु धर्मप्रति आस्थावान् मात्रै होइन, आक्रामक शैलीमा प्रचारप्रसारमा पनि लाग्ने मान्छे हुन्। उनी आबद्ध दल भारतीय जनता पार्टी (भाजपा) ले पनि धर्मलाई प्रयोग गरिरहेको छ। भारत भूमिमा धर्मलाई राजनीतिले प्रयोग गरेको हो कि राजनीतिले धर्मलाई प्रयोग गरिरहेको अवस्था छ।
योगी पहिला–पहिला नेपालमा आउँदा हिन्दु धर्मका लागि, राजतन्त्रका लागि वकालत गर्ने व्यक्तिको रुपमा परिचित छन्। त्यसैले मैले मात्र होइन, ठूलाठूला राजनीतिक दलका नेता, आम सचेत नागरिकले समेत आशंका गरेका छन्।
चर्चा परिचर्चा त कालान्तरमा समाप्त होला, तर तपाईं हामीकेमा सचेत हुनुपर्छ भने हाम्रो देश धर्म निरपेक्षहो। त्यसैले धर्म निरपेक्षतालाई कसरी कायम राख्ने, कसरी राज्य, राजनीतिक शक्ति, खासगरी सरकार तटस्थ बस्ने भन्नेमा ध्यान दिनुपर्छ।
उनी योगीका रुपमा आउँदै छन्।राम मन्दिर, जानकी मन्दिरले मात्र होइन सम्पूर्ण धार्मिक क्षेत्रले स्वागत गर्नुपर्छ। तर, यसमा राजनीति त्यति संलग्न हुनुहुँदैन भन्ने मेरो धारणा हो। राजनीतिक दल वा सरकार नै प्रत्यक्ष संलग्न हुनु त्यति रुचिकर छैन।
प्रदेश सरकारले घोषणा नै गरेको छ, उनीहरुलाई निम्तो गरेर मन्त्री परिसर मै ५०१ जना जन्ती र अन्य गरी १५ सय जनालाई भोजको आयोजना गरिएको छ। एउटा धर्मका लागि यस्तो छ भने भोलि अर्को धर्मका लागि पनि यही हुन सक्छ।त्यसले भविष्यमा धर्म क्षेत्रमा द्वन्द्वको सिर्जना गर्न सक्छ। त्यसैले केन्द्र होस् वा प्रदेश सरकार, दुइटै धार्मिक मामलामा तटस्थ भएर बस्नुपर्छ।
मुख्यमन्त्री योगीलाई जानकी मन्दिरले स्वागत गर्नुपर्छ, मन्दिरमा बस्नुपर्छ। उनले पनि राजनीति क्षेत्रमा छिर्नुहुन्न र हामीले पनि छिराउनुहुन्न।
जन्ती अयोध्याबाट हिँड्छन्।विश्व हिन्दु परिषद् वा भाजपाले जन्तीको अगुवाइ गर्छ भने भारतमा पनि प्रश्न स्वाभाविक उठ्छ।नेपालमा पनि धर्म निरपेक्षताका पक्षधरहरुले प्रश्न उठाउँछन् नै। त्यसैले यसलाई राजनीतिबाट टाढा राख्नुपर्छ।
(विश्लेषक लाभसँग नेपाल लाइभका अजय शाहले गरेको कुराकानीमा अाधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।