टुरिन- इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीलाई इटालीमा आएर खेल्न चुनौती दिएका छन्।
पोर्चुगिज राष्ट्रिय टिमका कप्तान समेत रहेका ३३ वर्षीय फरवार्ड रोनाल्डो यहि सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन च्याम्पियन युभेन्ट्समा ९९.२ मिलियन पाउन्डमा आबद्ध भएका थिए।
पछिल्लो १० वर्ष रोनाल्डो र ३१ वर्षीय फरवार्ड मेसीबीच उत्कृष्टताको लडाइँ हुँदै आएको छ। दुवैले ५-५ पटक बालोन डि'ओरको अवार्ड हात पारेका थिए। यस वर्ष भने क्रोएसियाका मिडफिल्डर लुका मोड्रिकले दुवैको बर्चश्व अन्त्य गर्दै अवार्ड हात पारेका थिए।
'मेसी एकदिन इटाली आएको हेर्न चाहान्छु,' रोनाल्डोले भने,'मलाई आसा छ उनले मेरो चुनौती स्विकार गर्नेछन्। यदि उनी स्पेनमै खुसी छन् भने पनि उनलाई सम्मान गर्छु।'
रोनाल्डोले पछिल्लो नौ सिजन स्पेनिस क्लब रियल म्याड्रिडमा बिताएका थिए। उनी सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियलमा आबद्ध भएका थिए। त्यसपछि मेसी र रोनाल्डोबीच उत्कृष्टताको लडाइँ सुरु भएको थियो।
इटालियन प्रेसले मेसीलाई कतिको मिस गर्नु हुन्छ भनी गरेको प्रश्नमा रोनाल्डोले भने,'छैन, सायद उनले चाहिँ मलाई मिस गरिरहेको हुन सक्छन्। मैले पोर्चुगल, इंग्ल्यान्ड, स्पेन, इटाली र राष्ट्रिय टिमका लगि खेले। जबकी उनी स्पेनमा मात्र छन्। सायद उनले मलाई खोजिरहेका होलान्। मेरो लागि जीवन चुनौती हो। मलाई चुनौती मन पर्छ। मलाई मानिसलाई खुसी दिन अझ धेरै मन लाग्छ।'
उनले मेसी उत्कृष्ट खेलाडी भएको भन्दै अघि भने,'उनी उत्कृष्ट खेलाडी र व्यक्ति हुन्। तर उनलाई मैले यहाँ मिस गरेको छैन। यो मेरो नयाँ जीवन हो। म खुसी छु। म सबै सजिलो छाडेर नयाँ चुनौतीको सामना गर्न टुरिन आएँ। सबै कुरा राम्रो भइरहेको छ। म अझै उत्कृष्ट खेलाडी भएको प्रमाणित गरिसकेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।