काठमाडौं(एजेन्सी)– पाकिस्तानी क्रिकेटमा एउटा रोचक घटना भएको छ। पाकिस्तानको घरेलु क्रिकेट कायद ऐ आजम प्रतियोगिताअन्तर्गत भएको वाटर एन्ड पावर डेभलपमेन्ट अथोरिटी (वाप्डा) र पेशावरबीचको खेलमा कसैले अनुमान नै लगाउन नसकिने नतिजा निस्कियो।
यो खेलमा वाप्डालाई जितका लागि ४ सय ६८ बलमा ४ रन मात्र आवश्यक थियो। तर, उसको हातमा एक विकेट बाँकी थियो। खेलको चौथो दिन वाप्डाका लागि मोहम्मद साद व्याटिङ गरिरहेका थिए। नन स्ट्राइकिङ इन्डमा मोहम्मद इरफान उभिएका थिए। यस्तै पेशावरका लागि ताज अली बलिङ गरिरहेका थिए।
अली बलिङ गर्न जतिबेला दौडिएर विकेट नजिकै आए, इरफान क्रिजबाट बाहिर निस्किए। यति नै बेला बल नफ्याकेर अलीले सिधै नन स्ट्राइकिङ इन्डको गिल्ली निकाले। र, अम्पायर अगाडि अपिल गर्न थाले।
अम्पायरले पनि आफ्नो सहयोगीसँग सुझाव लिँदै इरफानलाई मेनकेडिङको नियमको आधारमा आउट दिए। यो घटनापछि हातमा आएको खेल वाप्डाले गुमाउन पुग्यो।
मेनकेडिङको विषयमा आइसिसी के भन्छ
आइसिसीको मेनकेडिङ नियममा यदि बल फ्याक्नु पूर्व नन स्ट्राइकरले आफ्नो क्रिज छोड्छ भने बलरले बल नफ्याकि रन आउटको कोशिश गर्न सक्छ। रन आउट सफल भएको खण्डमा व्याटसम्यान आउट हुन्छ। तर, बलको गणना हुँदैन्। रन आउट असफल भएको खण्डमा त्यो बल डेडबलमा गणना हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।