एडिलेट-अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतले जित हात पारेको छ। सोमबार सकिएको टेस्टमा भारतले अस्ट्रेलियालाई ३७ रनले पराजित गरेको हो।
भारतले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएर दोस्रो इनिङ ब्याटिङ गरेको अस्ट्रेलिया पाँचौ दिनको अन्तिम शत्रमा २ सय ९१ रनमा अलआउट भयो।
अस्ट्रेलियाका लागि साउद मार्सले सबैभन्दा बढी ६० रन जोडे। बलिङमा भारतका जसप्रित बुमराह, रविचन्द्रन आस्वित र मोहमद सामीले ३-३ विकेट लिए। १ विकेट इशान्त शर्माको नाममा रह्यो।
त्यसअघि भारत दोस्रो इनिङमा ३ सय ७ रनमा आउट हुदा अस्ट्रेलियाले ३ सय २३ रनको लक्ष्य पाएको थियो। भारतको लागि दोस्रो इनिङमा चेतेश्वर पुजाराले ७१ र अजिन्का राहाणले ७० रन जोडेका थिए।
पहिलो इनिङमा भारतले २ सय ५० रन जोड्दा अस्ट्रेलिया २ सय ३५ रनमै अलआउट भएको थियो।
भारतले सन २००८ पछि अस्ट्रेलियामा पहिलो जित हात पारेको हो। पछिल्लो ३५ वर्षमा भारतले अस्ट्रेलियामा तेस्रो जित हात पारेको हो।
यस्तै अस्ट्रेलिया भ्रमणका दौरान टेस्टको पहिलो खेलमा भारतले पहिलो पटक जित हात पारेको हो। यसअघिका ११ भ्रमण मध्ये भारतले ९ खेलमा हार बेहोर्दा २ खेल बराबरीमा सकिएका थिए।
जितसँगै विराट कोहली दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अस्ट्रेलियामा टेस्ट खेल जित्ने पहिलो कप्तान भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।