राजविराज– सप्तरीको वरमझियामा जारी प्रदेश स्तरीय १९औं 'हिरो कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा पर्सा–११ विजयी भएको छ। महोत्तरी–११ लाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पर्सा फाइनलमा पुगेको छ।
आइतबार सम्पन्न खेलको पहिलो हाफमा पर्साका विपिन कँडेलले पहिलो गोल गरे भने कृष्णकान्त चौधरीले लगातार २ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा अस्मित चौधरी, कृष्णकान्त चौधरी र उज्जवल बस्नेतले १÷१ गोल गरे। आधा दर्जन गोल खाएको महोत्तरी–११ ले कुनैपनि गोल फर्काउन सकेन।
प्रतियोगिताअन्तर्गत मंसिर २८ गते हुने फाइनल खेलमा पर्सा–११ ले सर्लाही–११ को सामना गर्ने छ। यसअघि शुक्रबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा लहानलाई २–१ गोलअन्तरले हराउँदै सर्लाही–११ ले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
मंसिर १७ देखि जारी प्रतियोगितामा प्रदेश २ का ८ वटै जिल्लाले सहभागिता जनाएका छन्। विजेता टिमले हिरो कपसहित १ लाख रुपैयाँ नगद र उपविजेता टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।