काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको माथिल्लो डिभिजन लिग-१ वानको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
पिएसएम माकारसारका विलियम जान प्लुइम र पेर्सेबाया सुराबायाका डेभिड डा सिल्भालाई पछि पारेर पेर्सिजा जाकर्तामा आबद्ध रोहितले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन्।
यो सिजनमा चन्दले पेर्सिजालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले लिगमा ३१ खेल खेल्दै ३ गोल गरे। उनले ३४ खेल मध्ये ३ खेल खेल्न पाउनन्।
रोहितले यसअघि सन् २०१३ देखि २०१५ सम्म पेर्सिजाबाटै खेलेका थिए। यस्तै रोहित २०१७ फेरि पेर्सिजनामा आवद्ध भएका थिए।

पेर्सिजाले सिजनको महत्वपूर्ण खेलमा आइतबार मित्र कुकारलाई २-१ गोलले पराजित गर्न सफल भयो। महत्वपूर्ण खेलमा जित हात पारेसँगै पेर्सिजा च्याम्पियन बनेको हो।
सेन्ट्रल जाकर्ताको बुङ कार्नो रंगशालामा भएको खेलमा रोहितले पूरा ९० मिनेट खेलेका थिए। खेलमा उनी केन्द्रविन्दूमा रहेका थिए। सिजनको लिग जित्ने क्रममा पेर्सिजाले ३४ खेलबाट ६२ अंक जोड्यो। दोस्रो स्थानको पिएसएमले ६१ अंक जोड्न सफल भयो। पेर्सिजाले २००१ पछि पहिलो पटक लिग जितेको हो। १९३१ मा पहिलो पटक च्याम्पियन बनेको पेर्सिजाले योसहित एघारौं पटक लिगको उपाधि जित्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।