काठमाडाैं– वैदेशिक रोजगार विभागले राजधानीको बसुन्धरास्थित सब इन्टरनेसनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ। विभागको अनुगमन टोलीले छापा मारी उक्त म्यानपावरका कर्मचारी गणेशबहादुर पतेनीभाटलाई पक्राउ गरेको छ।
युएईको पुलिसमा जागिर लगाइदिने भन्दै प्रतिकामदार ३ लाख ८० हजार रुपैयाँ उठाउँदै गरेको सूचना विभागमा आएपछि उक्त म्यानपावरमा छापा मारिएको विभागले जनाएको छ।
रोजगारीमा जाने कामदारसँग ३ लाख ३५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अननुगमन टोलीले पतेनीभाटलाई रंगेहात पक्राउ गरेको विभागका निर्देशक हरिप्रसाद ज्ञावलीले बताए।
उक्त म्यानपावरबाट आवश्यक कागजात नियन्त्रणमा लिइएको र म्यानपावर कम्पनीका सञ्चालकलाई बोलाएर बयान लिने विभागले जानकारी दिएको छ।
पक्राउ परेका कर्मचारीले विभागमा बयान दिंदै आफूले रकम लिएको स्वीकार गरेको विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।