काठमाडौं- भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले शतक प्रहार गरेपछि एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएरले रोमाञ्चक जित हात पारेको छ।
आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा भैरहवाले पोखरा राइनोजमाथि ४ विकेटको रोमाञ्चक जित हात पारेको हो। पोखराले दिएको २ सय १६ रनको लक्ष्य भैरहवाले २ बल बाँकी छदा ६ विकेटको क्षतिमा पार गरेको थियो।
भैरहवाको जितमा रविइन्द्र सिंहले नटआउट १ सय २५ रन जोडेका थिए। उनले ६० बलमा ८ चौका र १० छक्का प्रहार गरे। आक्रमक लयमा देखिएका उनी खेलको म्यान अफ दिन म्याच चुनिए। त्यसअघि खराब ओपनिङ गरेको भैरहवाका हरिशंकर साह रन नै जोड्न नपाइ आउट भए। अर्का ओपनर प्रदीप ऐरीले ११ बलमा १४ रन जोडेका थिए।
रायन टेन डोजच्याटे १६ रन र कप्तान शरद भेषवाकर ६ रनमा आउट भए। तर आरिफ शेख र पुनित मेहराले रवि इन्दरलाई राम्रो साथ दिएपछि भैरहवाको जित सम्भव भयो। आरिफले १३ बलमा २ छ्क्का सहित २३ रन र मेहराले ९ बलमा २ छक्का सहित नटआउट १८ रन जोडे।
बलिङमा पोखराका सुसन भारी, ब्रिकम शोव र पाउल कउलिनले २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पनि धमाकेदार ब्याटिङ गरेको थियो। पोखराले २० ओभरमा ५ विकेट गुमाएर २ सय १५ रन जोडे। उत्कृष्ट ओपनिङ गरेको पोखरा ओपनर रिचार्ड लेभीले ७९ रन र उनका ओपनिङ पार्टनर केल केइट्जरले ४७ रन जोडे। दुईबीच पहिलो विकेटका लागि ८.२ ओभरमा १ सय ४ रनको साझेदारी भएको थियो। लेभीले ३६ बलमा समान ७-७ चौका र छक्का प्रहार गरे। कप्तान कोइट्जरले ३७ बलमा ४ चौका र २ छक्का हिर्काए।
पोखराका लागि सुनील धमलाले २३ बलमा ३८ रनको योगदान गरे। यस्तै पाउल काउलिनले १० बलमा नटआउट रन जोडेपछि पोखराले २ सय रन कटाएको थियो।
बलिङमा भैरहवाका अभिनास बोहोरा, भुवन कार्की, रायन टेन र पुनीत मेहराले समान १-१ विकेट लिए।
तस्बिर : भैरहवा ग्लाडिएटर्स
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।