जनकपुर– जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना हुने भएको छ।
सम्मेलनमा नेपाल–भारतका मैथिली सेवी, विद्वान, साहित्यकारका साथै अन्य भाषाका अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त साहित्यकार तथा संस्कृतिविद्को सहभागिता रहने बताइएको छ।
सम्मेलन आउने पुस ७ र ८ गते जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा हुने छ। सम्मेलनका संयोजक रामभरोस कापडी भ्रमरका अनुसार एक दर्जनभन्दा बढी कार्यपत्र प्रस्तुत गरिनुका साथै कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुनेछ।
सम्मेलनको पहिलो दिन जनकपुरधामको जानकी मन्दिरदेखि सभास्थलसम्म हुने प्रभातफेरीमा मैथिली भेषभुषामा सुसज्जित सहभागीद्वारा मैथिली भाषाको उत्थानमूलक नारा, ब्यानरसहित प्रदर्शन हुनेछ। ‘मैथिली जागरण’ नामाकरण गरिएको प्रभातफेरी मिल्स एरिया, भानु चोक, शिवचोक, रामचोक हुँदै कार्यक्रम स्थलमा पुग्ने बताइएको छ।
पहिलो दिनको कार्यक्रममा उद्घाटन, मिथिला रत्न सम्मान एवम् पुरस्कार प्रदान, स्मारिका र अन्य महत्वपूर्ण पुस्तकको विमोचन, नेपाल–भारतका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम हुनेछ।
त्यस्तै सम्मेलनको दोस्रो दिन कार्यपत्र प्रस्तुत, कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम र जनकपुरधाम घोषणापत्र जारी गरिने कार्यक्रम रहेको बताइएको छ। यसका साथै सम्मेलन अवधिभर पुस्तक, हस्तकला, मिथिला लोकचित्रको प्रदर्शनीसमेत हुने संयोजक कापडीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।