काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टि-२० क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रिओट्ले चितवन टाइगर्सलाई ११ रनले हराएको छ। शनिबार भएको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको ललितपुरलाई जितले राहत मिलेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा ललितपुरले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन मात्र जोड्न सक्यो।
खराब सुरुवात गरेको चितवनका ओपनरद्वय दिलीप नाथ र पाउल स्टलिङ १-१ रनमा आउट भए। नाथलाई ललितपुरका सनी पटेलले तथा स्टर्लिङलाई सन्दीप लामिछानेले आउट गरेका थिए। त्यसपछि जोन सिमसोन १३ रनमा आउट भएका थिए।
दीपेन्द्रसिंह ऐरीले ४५ बलमा ४१ रन जोडेर चितवनको इनिङ उकास्ने कोशिस गरे। कप्तान पृथु बास्कोटाको २६ रन पनि चितवनलाई महत्वपूर्ण रह्यो। भीम सार्की ८ बलमा २ छक्काको मद्दतमा १७ रन जोडेर आउट भए। कमलसिंह ऐरी र ललित भन्डारी १-१ रनमै पेभेलियन फर्के। सहाव अलामले नटआउट ५ रन र जर्ज स्कटले नटआउट १८ रन जोडे। स्कटले ९ बलमा २ छक्का प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा ललितपुरका सन्दीप लामिछानले ३ विकेट र सनी पटेलले २ विकेट लिए। सन्दीपले ४ ओभरमा २६ रन र सनीले १ मेडन राख्दै १७ रन खर्चिए। गौरव तोमार र ललितनारायण राजवंशीले १-१ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ रन जोड्यो। ललितपुरका लागि सन्दीप जोराले बिस्फोटक ब्याटिङ गर्ने क्रममा ८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै नटआउट २५ रनि रन जोडे। सोनु तामाङले पनि २४ बलमा १ चौका र ३ छक्का हिर्काउदै नटआउट ३५ रन जोडे।
गौरव तोमारले २९ बलमा ३० रन र सनी पटेलले १३ बलमा १९ रन जोडे।
ओपनिङमा आएका कुशल भुर्तेल ३ रनमा आउट हुदा अर्का ओपनर जयकिशन कोल्शावालले ३० बलमा २० रनको योगदान दिए। कप्तान ज्ञानेन्द्र मल्लले ३ रन भन्दा बढी जोड्न सकेनन्। बलिङमा चितवनका जर्ज स्कटले २ विकेट लिदा ललित भन्डारी, कमलसिंह ऐरी र पाउल स्टर्लिङले १- १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।