राजविराज– सप्तरीको विष्णुपुर गाउँपालिका–१, खुरहुरीयाका हरिनारायण यादवले यस वर्ष लगभग १ सय ५० मन धान भित्र्याए। दुई बिगाह जग्गामा धान खेती गर्दा प्रतिकठ्ठा सरदर साढे तीन मन धान फलेपछि उनी खुसी छन्।
‘पोहोर साल समयमा पानी परेन, रोपाईं सकेपछि बाढीले पनि धेरै नोक्सान गर्यो,’ यादव भन्छन्, ‘मौसम अनुकूल हुँदा यस वर्ष करिब ५० मन धान बढी फल्यो।’
तिलाठी–कोइलाडी गाउँपालिका–६, वभनगामाका शम्भु यादवको पनि यस वर्ष धान उत्पादन बढ्यो। प्रतिकठ्ठा सरदर तीन मन धान फलेको उनले बताए। साढे तीन बिगाहमा खेती गरेका शम्भुले पनि यस वर्ष १ सय ५० मन धान भित्र्याए।
एक बिगाहमा धान खेती गरेका तिलाठी–कोइलाडी गाउँपालिका–२, लौनियाँका वेदानन्द मण्डलको पनि उत्पाद बढ्यो। प्रतिकठ्ठा साढे तीन मनका दरले करिब ७० मन धान उत्पादन भएको उनले बताए। ‘विगत तीन÷चार वर्षपछि यो वर्ष धान उत्पादनमा सुधार भयो,’ खुसी व्यक्त गर्दै उनले भने, ‘प्रतिकठ्ठा झन्डै आधा मनले धानको उत्पादन बढ्यो।’
यस वर्ष सप्तरी जिल्लामा धानको उत्पादन बढेको छ। गत वर्षको तुलनामा यस वर्ष २९ हजार ६ सय ७५ मेट्रिकटन धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र सप्तरीका कृषि अर्थविद् तथा योजना अधिकृत किशुनदेव राउतले जानकारी दिए।
कूल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष ६३ हजार हेक्टरमा धान बाली लगाइएको थियो। प्रतिहेक्टर २ दशमलव ८५ मेट्रिक टनका दरले कूल १ लाख ६९ हजार ५५० मेट्रिक टन धान उत्पादन भएको छ। रोपार्इंको समयमा तुलनात्मक रुपमा वर्षाले साथ दिएको र गत वर्षभन्दा ८ हजार ५ सय हेक्टर बढी जमिनमा धान रोपार्इं भएकाले उत्पादन पनि बढेको राउत बताउँछन्।
चार वर्षपछि पहिलो पटक उत्पादन बढ्यो
सप्तरीमा विगत चार वर्षपछि पहिलो पटक धान उत्पादनमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्र (तत्कालीन कृषि विकास कार्यालय) को तथ्यांक हेर्दा हरेक वर्ष धानको उत्पादन घट्दो दरमा छ। ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये गत वर्ष ५४ हजार ५ सय हेक्टरमा मात्र धान बाली लगाइयो। रोपाईंको समयमा पर्याप्त सिँचाई नहुँदा ७ हजार हेक्टर जमिन बाँझै रह्यो। रोपाईं भएको धानबाली समेत साउनको दोस्रो र तेस्रो साताको बाढीले पुरेपछि कतिपय किसानले धानबाली उठाउनै पाएनन्।
करिब ८ हजार ५ सय हेक्टर धानबाली बाढीले बगाएको र बाँकी रहेको बालीबाट किसानले कूल १ लाख ४९ हजार ८ सय ७५ मेट्रिकटन धान उत्पादन गरेको जिल्ला कृषि विकास कार्यालय सप्तरीको तथ्यांकमा उल्लेख छ। गतवर्ष प्रतिहेक्टर सरदर २ दशमलव ७५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
आव २०७३/०७४ मा उत्पादकत्व २ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर थियो भने आर्थिक वर्ष ०७०/०७१ र ०७१/७२ मा जिल्लामा औसत ३ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो।
‘धान उत्पादनको यो दर अत्यन्तै निरासाजनक हो,’ कृषि क्षेत्रका जानकारहरु भन्छन्, ‘खेती प्रणालीलाई वैज्ञानिकीकरण गर्दै सिँचाई, मल लगायत आवश्यक व्यवस्था गर्न सके सप्तरीमा धान उत्पादनको दर प्रतिहेक्टर ४ देखि ५ मेट्रिकटनसम्म पुर्याउन सकिन्छ।’
रोपाईंको समयमा सिँचाई अभाव, त्यसपछिको बाढी अनि पानीको आवश्यक पर्ने समयमा लगातार खडेरी पर्दा धानको उत्पादन घट्दै गएको उनीहरु बताउँछन्। हरेक वर्ष सिँचाई प्रणालीमा कुनै न कुनै समस्या आउने, समयमा वर्षा नहुने र विभिन्न विकल्प अपनाएर रोपाईं गरिहाले पनि मल–खादको समस्या तथा बाढी र खडेरीका कारण उत्पादनमा असर गर्ने समस्याले सप्तरीका किसान पीडित छन्।
सिंचाई अभावमा हरेक वर्ष १० देखि ४० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो
सप्तरीमा ५६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनलाई सिञ्चित क्षेत्र मानिन्छ। चन्द्र नहर, कोशी पश्चिमी नहर र कोशी पम्प नहर प्रणाली गरी तीन वटा ठूला सिँचाई प्रणाली र ग्रामीण पूर्वाधार विकास कार्यक्रम तथा सिँचाई सेक्टर अन्तर्गतका अन्य साना–तिना सिँचाई पूर्वाधार पनि छन्। तर, अधिकांश सिँचाई प्रणालीको अवस्था जीर्ण र अस्तव्यस्त हुँदा हरेक वर्ष सिँचाई अभावकै कारण १० देखि ४० हजार हेक्टरसम्म खेतीयोग्य जमिन बाँझो रहन्छ।
तथ्यांक अनुसार आव ०७४/०७५ मा ६३ हजार हेक्टर जमिनमा मात्रै धान बाली लगाइयो। यसैगरी, आव २०७३÷७४ मा ५४ हजार ५ सय हेक्टर, ०७२÷०७३ मा ३२ हजार ९ सय हेक्टर, ०७१/०७२ मा ४२ हजार हेक्टर र ०७०/०७१ मा ६० हजार २ सय हेक्टरमा मात्रै धान बाली लगाइएको थियो।
यसरी हेर्दा आव ०७४/०७५ मा ७ हजार हेक्टर, आव २०७३/०७४ मा १५ हजार ५ सय हेक्टर, आव ०७२/०७३ मा ३७ हजार १ सय हेक्टर, आ ०७१/०७२ मा २८ हजार हेक्टर र ०७०/७१ मा ९ हजार ८ सय हेक्टर जमिन बाँझो रहेका कारण पनि उत्पादन घटेको देखिन्छ ।
खासगरी जिल्लाको पश्चिम–दक्षिण भेगका किसानहरु खडेरीको मारमा पर्ने गरेका छन् भने पूर्वी र दक्षिणी भेगका किसानलाई हरेक वर्ष बाढीले सताउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।