गलेश्वर– युवापुस्ताको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियताका कारण म्याग्दीका ग्रामीण भेगमा धार्मिक कार्यमा गाइने भजनकीर्तन लोप हुँदै गएकाे छ।
भजनकीर्तनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भए पनि युवापुस्तामा रक, पप र विदेशी गीतप्रतिको मोहले भजनकीर्तन जोगाउन मुस्किल हुँदै गएको हो।
सहरबजारमा करिब एक दशकयतादेखि नै देखिन र सुनिन छाडेको भजनकीर्तन गाउँघरमा समेत विस्तारै खोज्नुपर्ने अवस्थामा पुगेको पण्डित भीमनाथ पराजुली बताउँछन्।
'हिन्दूलाई विदेशी धर्मले आक्रमण गरेको छ। धर्मको जर्गेना गर्ने भजनकीर्तन हराउँदै गएका छन्', उनी भन्छन्।
कुनैबेला बालाचर्तुदशी पर्वमा प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र भजन समूह लिएर आउनेलाई बस्ने ठाउँ पुर्याउन मुस्किल हुने गरेको अवस्थामा अहिले पत्रचार गरे पनि मुस्किलले आउने गरेकामा पण्डित पराजुली चिन्ता व्यक्त गर्छन्।
विगतमा टुक्का र कथालाई भजनमा उर्ताने पुराना कलाकारले महिला समूहसँग सहकार्य भजन गाउँदै मन्दिरमा आउने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर कार्की बताउँछन्।
भजनको पुरानै मार्मिकतालाई निरन्तरता दिन सरकारी निकायबाट कार्यक्रम तथा धार्मिक मन्दिरबीच सहकार्य आवश्यकता रहेको भजनकीर्तनका सर्जकको भनाइ छ।
धार्मिक क्षेत्रका जानकारले वडास्तरमै भजनकीर्तन समूह बनाएर युवालाई प्रशिक्षण दिनुपर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।