डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका स्मार्ट सिटी बन्ने निश्चित भएको छ।
नेपाल सरकारको १० वटा सहरलाई स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार डडेल्धुराको अमरगढी नगरपालिका पनि पर्न सफल भएको हो। सहरी विकास मन्त्रालयले १० वटा सहरलाई स्मार्ट सिटी निर्माण गर्न ‘ग्रिड कन्सल्टेण्ट’सँग सम्झौता गरिसकेको छ।
स्मार्ट सिटी निर्माण गर्ने योजना १० सहरमध्ये अहिले स्याङ्जाको वालिङ, दैलेखको दुल्लु र डडेल्धुराको अमरगढीको अध्यायनमा सेटेलाइट वेशका काम अन्तिम चरणमा पुगेको छ।
यस्तै भू–उपयोग नक्सा, वार्डगत भेटघाट सम्पन्न भएका छन्। स्मार्ट सिटीभित्र स्मार्ट जनता, स्मार्ट भौतिक पूर्वाधार, स्मार्ट शासन व्यवस्था र स्मार्ट अर्थ व्यवस्था रहने भएकाले सो स्तरमा अमरगढीलाई पुराउन योजना निर्माण गरिरहेको वातावरण विद् तथा अमरगढी स्मार्ट सिटीका संयोजक कुमोद लेखकले जानकारी दिए।
स्थानीय तहको निर्वाचनका बेला स्मार्ट सिटीको मुद्दा उठाएका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले अहिले कार्यान्वयनमा अगाडि बढ्दा जनतासँग गरेका बाचा पूरा हुनेमा विश्वास व्यक्त गरे।
स्मार्ट सिटीका नगरप्रमुख एक्लैले मात्र बनाउन नसक्ने भएकाले यस कार्यमा सम्पूर्ण नगरबासी तथा सरोकारवालाले आ–आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा आग्रह गरे।
डडेल्धुराका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र उग्रतारा मन्दिर, घटाल थान, अमरगढी किल्ला, रावलतोली गुफा अमरगढी क्षेत्रभित्र नै पर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।