काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३२ ट्याक्सी चालकलाई कारबाही गरेको छ।
महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई विभिन्न बहाना बनाई मिटरमा जान नमान्ने, मिटरमा उठेको भन्दा बढी भाडा लिने ट्याक्सी चालकलाई शुक्रबार कारबाही गरेको हो।
महाशाखा प्रमुख वसन्तकुमार पन्तले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने, बिग्रेको मिटर नबनाउने ट्याक्सीलाई विशेष अभियान सञ्चालन गरेको जानकारी दिए।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६० अनुसार पाँच पटकभन्दा बढी कसुर गरेमा ६ महिनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन हुने व्यवस्था भएकाले त्यसलाई कडाइका साथ लागू गर्ने उनले बताए।
महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकलाई महाशाखाको हटलाइन १०३ वा ९८५१२९५१०० मा एसएमएस वा फोन गर्न यात्रुलाई आग्रहसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।