भैरहवा– रुपन्देहीको मर्चवारमा धेरैजसो खेत बाँझै छन्। मल र सिँचाइको अभावले खेती गर्न नसकेको किसानहरूको गुनासो छ।
अन्न भण्डारको रुपमा चिनिने मर्चवारमा हरेक वर्ष कात्तिक दोस्रो सातासम्म खेती गरी सकिन्थ्यो।
यतिबेला खेतमा गहुँको हरियाली हुन्थ्याे। यस वर्ष अहिले सम्म खेत जोत्न समेत नपाएकोमा कृषक अकमल मुसलमानले दुःखेसो पोखे। ‘मल नपाएरै अहिलेसम्म खेत जोतेको छैन,’ उनले भने।
गाउँमा गहुँको बिउ नपाउँदा सहकारीमा भौतारिनुपर्ने बाध्यता भएको कृषक सुनाउँछन्। गहुँ छर्न ढिला हुनुका साथै खेतमा चिस्यान पनि कम भएकाले खेतीको सम्भावना नरहेको एक किसानले बताए।
मर्चवारका ३ वटै गाउँपालिका अध्यक्षसहित विभिन्न सहकारी प्रतिनिधि कृषि सामग्री कम्पनीमा डेलिगेशन गए। तर हालसम्म उपलब्धि नभएको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)ले बताए।
‘किसानहरूको समस्या लिएर कृषि सामग्री कम्पनीमा डेलिगेशन गएका थियाैँ’, अध्यक्ष शुक्लाले भने।
केन्द्रले सातामा सहकारीलाई ९० बोराका दरले मल उपलब्ध गराए पनि कृषकहरुको मागअनुसार उपलब्ध नभएको उनले बताए।
भैरहवामा रहेको कृषि सामग्री कम्पनी लिमिटेडका क्षेत्रीय प्रबन्धक राजेन्द्र कुमार कार्कीले मल अभावका कारण आवश्यकताअनुसार दिन नसकेको बताए।
‘यो सिजनको लागि १७ हजार ५ सय टनमात्र डिएपी मल आएकोले कम्पनीमा नै मलको अभाव छ,’ उनले भने,‘ कार्यालयको कार्यक्षेत्र ठूलो भएको हुँदा यसलाई सबै जिल्लामा बाँड्नुपर्छ।
त्यसैले चाहेका जति दिन सकेनौँ।’ सहकारीको तथ्यांक आफूहरूसँग नभएकोे नियमानुसार आउने सहकारीलाई मल उपलब्ध गराएको कार्कीले बताए।
सिँचाइको समस्या
मर्चवारमा गहुँ छर्न न सक्नुको अर्को कारण हो सिँचाइ। ‘मल र गहुँको जोहो जेनतेन गरेपनि खेतमा चिस्यान छैन, कसरी पो गर्नु खेती,’ मर्चवारका कृषक रामबृक्ष अहिरले गुनासो पोखे,‘ खेतमा चिस्यान भएन भने सबै मिहिनेत नाश हुन्छ।’
सम्मरीमाई गाँउपलिका अध्यक्ष शुक्लले सिँचाइको समस्याका बारेमा प्रदेश सरकार र केन्द्र सरकारसम्म पटक पटक जानकारी गराएपनि कुनै चासाे नदेखाएको बतए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।