जनकपुर– जनकपुरमा रामजानकी विवाहपञ्चमी महोत्सव आजबाट विधिवत् रुपमा सुरु भएको छ।
विवाहपञ्चमी अन्तर्गत आज पहिलो दिन जनकपुर नगर दर्शन गरिएको छ। नगर दर्शनमा भगवान श्रीराम र लक्ष्मणको प्रतिकात्मक बालकहरूलाई जनकपुरको विभिन्न भाग घुमाएर नगर दर्शन गराइएको छ।
त्रेता युगमा जनकपुरमा भगवान राम र आदर्श नारी सीताबीच मंसिर शुक्ल पञ्चमीका दिन विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा जनकपुरमा रामजानकी विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ।
विवाहपञ्चमीको दोश्रो दिन आर्थात भोली फूलबारी लीला, तेस्रो दिन मंसिर २३ गते धनुष यज्ञ, चौथो दिन मंसिर २४ गते तीलकोत्सव, पाँचौदिन मंसिर २५ गते मटकोर र छैठो दिन मंसिर २६ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ।
महोत्सवको अन्तिम दिन मंसिर २७ गते रामकलेवा गरी जन्तीको विदाइ गरेपछि विवाहपञ्चमी महोत्सवको विधिवत समापन हुने गर्दछ।
मंसिर २६ गते मित्र राष्ट्र भारतका उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको रुपमा आउने हुँदा यस वर्षको विवाहमहोत्सवलाई विशेष रुपमा लिइएको छ।
यसपटक अयोध्याबाट साधुसन्तहरू हात्ती, घोडा र उँट चढेर जन्ती आउने कार्यक्रम समेत रहेको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासबैष्णवले जानकारी दिए।
महोत्सवमा सहभागी हुन श्रद्धालु भक्तजन एवम् दर्शनार्थी एकसाता अघिदेखि नै जनकपुर आउने क्रम जारी छ।
राम–जानकी विवाहको लागि अगामी कार्यक्रम स्वयम्वर, विवाह, रामलिलाको लागि छुट्टा छुट्टै तीन ठाउँमा स्टेजसहित पन्डाल निमार्ण भइरहेको छ।
१० लाखको टेन्ट पन्डालमा खर्च हुने गरी मन्दिरमा डेकोरेसनको तयारी भइरहेको छ। तीन ठाउँमा सयपत्री लगायतका फूलले सजाएर पन्डाल बनाउने कामसमेत भइरहेको छ।
भारतको कोलकात्ताबाट राम–जानकी विवाहका लागि सयपत्री फूलमात्रै करिब ८ लाखको अर्डर गरिएको महोत्सव आयोजक समितिका संयोजक महन्त दासले बताए।
यता, स्वयम्वर हुने स्थल १२ विघा रंगभूमि मैदानमा समेत श्रद्धालु यात्रुहरूका लागि बसोबास र सांस्कृतिक कार्यक्रमका लागि ठूल–ठूला पन्डाल धमाधम निमार्ण भइरहेका छन्।
विवाहपञ्चमीको लागि अनुमानित २ करोड ५० लाख खर्च हुने महन्थ दासले बताए। उनले भने, ‘प्रदेश सरकारले ५० लाख सहयोग गरे पनि जनकपुर उपमहानगरपालिका र अन्य सरकारी निकायबाट सहयोग प्राप्त भएको छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।