एजेन्सी– बलिउड सुपरस्टार रजनीकान्त र अक्षय कुमारको मुख्य अभिनय रहेको फिल्म ‘२.०’ले यतिबेला भारतीय बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ।
गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्मले अहिलेसम्ममा ५ सय करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। यससँगै फिल्मले ‘बाहुबली’ले पहिलाे सातामा राखेकाे व्यापारकाे रेकर्ड तोड्न सफल भएको छ।
भारतीय फिल्म बजार विश्लेषक रमेश बालाले सार्वजनिक गरेको व्यापार रिपोर्टअनुसार फिल्मले बुधबारसम्ममा ४ सय ८८ करोडको व्यापार गरिसकेको छ। जसमा भारतीय बक्सअफिसबाट ३ सय ६७ करोडका साथै अन्तर्राष्ट्रिय बजारबाट १ सय २१ करोडको व्यापार गरेको हो।
यसैगरी फिल्मको बिहीबारको कलेक्सनपछि ५ सय करोड बढीको व्यापार रेकर्ड कायम हुने सञ्चारमाध्यममा उल्लेख छ।
फिल्ममा अभिनेता रजनीकान्त र अक्षय कुमार पहिलो पटक एकसाथ प्रस्तुत भएका छन्। अत्याधिक भिएफएक्स प्रयोग गरिएको फिल्म ‘२.०’ यसअघि प्रदर्शनमा अाएकाे फिल्म 'रोवर्ट'को सिक्वेल हो। एस शंकरको निर्देशन रहेको फिल्ममा एमी ज्याक्सन मुख्य अभिनेत्रीको रुपमा देखिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।