६ जनालाई ‘नारायणगोपाल स्मृति सम्मान’

नेपाल लाइभ | २०७५ मङ्सिर १९ बुधबार | Wednesday, December 05, 2018 २१:०३:०० मा प्रकाशित

काठमाडौं– स्वरसम्राट नारायण गोपालको २८औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका स्वरसम्राट नारायण गोपालको स्मृतिमा काठमाडौंलगायतका देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको हो।

यसै अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकका विभिन्न क्षेत्रमा अतुलनीय योगदान पु¥याएका संगीतकार कर्म योञ्जन, अभिनेता नीर शाह, गीतकार दिनेश अधिकारी, राजेन्द्र रिजाल, चिकित्सक डा दीर्घसिंह बम र अर्थशाष्त्री विश्वम्भर प्याकुरेललाई ‘नारायणगोपाल स्मृति सम्मान’ प्रदान गरिएको छ।

नारायण गोपाल संगीत कोषले समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ६ जना व्यक्तित्वलाई सो सम्मान प्रदान गरेको हो।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेता नीर शाहले स्वरसम्राट नारायण गोपाल मुलुकको सांगितिक क्षेत्रको गम्भीर अध्येता भएको उल्लेख गरे। शाहले नारायण गोपालबाट नयाँ पुस्ताले गहन अध्ययनका साथ गीत, संगितको क्षेत्रमा लाग्न प्रेरणा लिनुपर्ने धारणा राखे।

कोषकी अध्यक्ष उषा शेरचनले नारायण गोपाल हर क्षणमा सम्झनलायक व्यक्तित्व भएको स्मरण गरिन्। उनले नारायण गोपालका गीतले पीडामा पनि हरेकलाई हसाउने गरेको पनि उल्लेख गरिन्।

संगीतका हरेक विधामा उत्तिकै प्रखर स्वरसम्राट नारायण गोपालका सबै गीत कालजयी रहेका छन्। विक्रम संवत् १९९६ साल असोज १८ गते काठमाडौंमा जन्मिएका नारायण गोपालले गाएका ‘एउटा मान्छेको मायाले’, ‘मत लालीगुराँस भएछु’, ‘मोहनी लाग्ला है’ जस्ता दर्जनौं गीत सर्वाधिक रुचाइएका छन्।